अमेरिकी सरकारद्वारा नेपाललाई १५ लाख डाेज काेराेना खोप हस्तान्तरण

Nepal Om ४ वर्ष अघि
  • काठमाडाैं । अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरुप नेपाललाई हस्तान्तरण गरेको छ । 

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले जोन्सन एण्ड जोन्सन खोप हस्तान्तरण गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप अनुदान उपलब्ध गराएकोमा अमेरिकी सरकारलाई धन्यवाद दिए।

    अमेरिका सरकारले नेपाललाई दिएको खोप नेपाली जनताको जीवन रक्षाका लागि बरदानस्वरुप हुने उनले बताए । प्राप्त भएको खोप प्राथमिकताको आधारमा जोखिम समूहलाई दिनेगरी छिट्टै खोप अभियान सञ्चालन गरिने उनले बताए ।

    उनले कोरोना नियन्त्रणमा फ्रन्टलाईनरदेखि जनतासंम्म खोप पुराउने जिकिर गरे । कोरोनाबाट बच्न खोपको बिकल्प नभएको भन्दै उनले जनताको जिवनरक्षाका लागि सवै जनतालाई खोपको पहुँचमा पुराउने बताए ।

    त्यस्तै राजदूत बेरीले नेपाली जनताको जीवनरक्षाको एक मात्र उद्देश्यले खोप उपलब्ध गराइएको बताउँदै यसले नेपाललाई अहिलेको महामारीबाट बाहिर निस्कन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

    अमेरिकाले नेपाल सरकारलाई १५ लाख डोज कोभिड– १९ विरुद्धको खोप अनुदान सहयोग दिएको हो । अमेरिकाले अनुदान सहयोग दिएको १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप सोमबार नै त्रिभुवन बिमानस्थलमा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । अमेरिकी सरकारले कोभ्याक्स सुविधा अन्तर्गत जोन्सन एन्ड जोन्सन खोप प्रदान गरेको हो ।