
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई १० लाख धरौटीमा रिहा गरेको हो ।
गच्छदार बुधबार बिहान १० बजे उपस्थित भएपछि चार घण्टासम्म उनको बयान लिइएको थियो । ललिता निवासको जग्गाको मुद्दा लागेपछि गच्छदार फरार हुँदै आएका थिए । आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन भएको भोलिपल्ट उनी अदालत पुगेका हुन् ।
ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध २०७६ साल माघ २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । आरोपितहरु मध्ये केही थुनामा छन् भने केही धरौटी बुझाउँदै छुटेका छन् ।