ओलीको बोलीले एमाले एकता अनिश्चित

NepalOm ४ वर्ष अघि
  • काठमाडौँ : नेकपा एमालेमा विगत लामो समयदेखि चर्को आवाजसहित उडिरहेको विवादको जहाज कहिले, कसरी र कुन विन्दुमा पुगेर अवतरण हुन्छ भन्ने कुनै अत्तोपत्तो छैन । अवतरणका लागि दोस्रो तहका नेताहरुले हदैसम्मको प्रयास गरेपनि त्यो सफल हुन सकेको छैन । हुन पनि दुई प्रमुख पायलटको नियन्त्रणमा रहेको एमाले नामको जहाज ‘क्याविन क्रु’हरुले अवतरणको प्रयास गर्दा कसरी सम्भव होस् !

    मुख्य पायलटमध्येका एक केपी शर्मा ओली प्रधानमन्त्री रहँदा ५ पुस २०७७ मा हठात् प्रतिनिधिसभा विघटन गरेदेखि सतहमा आएको विवादमा ८ महिना वितिसक्दा पनि सहमतिको कुनै विन्दु पहिलिन सकेको छैन ।

    कार्यदल नै बनाएर पनि समाधानको विन्दु पहिल्याउने प्रयास नगरिएको होइन । तर एमाले गलत दिशातिर मोडियो भन्दै आफूले सही ढंगले हाँक्छु भन्ने अर्को पायलट माधव नेपालले कार्यदलको प्रस्तावमा खोट देखाउँदै अस्वीकार गरिदिए । एकअर्काविरुद्ध निषेधको राजनीति गरिरहेका यी दुई पायलट वास्तवमा एक हुनै नचाहेका हुन् । यो वास्तविकताबारे त पार्टी विभाजन भयो भने स्वयम्लाई आपूरणीय क्षति पुग्छ भन्ने बुझेर एकीकरणका लागि दौडधुप गरिहेका दोस्रो तहका नेताहरुलाई थाहा भएको हुँदो हो ।

    औपचारिक रुपमा विघटन भइसकेको कार्यदलमा सम्मिलित सदस्यहरु निरन्तर आनौपचारिक छलफल तथा बैठकमा जुटिरहेका छन्, तर यो त्यत्ति उपलब्धिमूलक भएको देखिँदैन । यस पछाडीका प्रमुख कारण ओली र नेता नेपालले गरिरहेका एकअर्का विरुद्धको निषेधको राजनीति नै हो । कतै कुरा मिल्ला–मिल्ला जस्तो हुँदा एउटाले गलत स्वीच दबाइदिने । यसैपनि दुई पायलटबीचको द्वन्द्वका कारण सहि गति लिन नसकिरहेको जहाज त्यसपछि त झन् अनियन्त्रित भएको महसुस यात्रुहरुले नगर्ने कुरै भएन ।

    यसका उदाहरण हामीसामू छर्लङ्गै छन्, जेठ ८ गते मध्येराति निवर्तमान प्रधानमन्त्री ओलीले दोस्रो पटक भंग गरेको संसद असार २८ मा पुनःस्थापना भयो । संसद पुनःस्थापनासँगै आएको सर्वोच्चको आदेशबाट पदच्युत भएका ओलीले सरकारी निवास छाडेर निजी निवास बालकोट पुगेपछि वरिष्ठ नेता नेपालप्रति छुद्र टिप्पणी गरे ।

    निवासको बार्दलीबाट समर्थकहरुलाई सम्बोधन गर्दै आफ्नै पार्टीको सरकार ढाल्न अगुवाइ गरेको भन्दै नेता नेपालले आत्मालोचना गर्नेसमेत कुनै ठाउँ नरहेको बताएका थिए । ‘हाम्रो साथीहरू विकाउ माल बने, विरोधीलाई अदालतबाट सत्ता बुझाए, ती विकाउ मालको अवस्था भविष्यले निर्धारण गर्ला त्यसो त अरु साथीहरूको हकमा पार्टीमा सँगै काम गर्न सकिएला तर माधव नेपालको हकमा एमालेमा स्वीकार्ने कुनै ठाउँ बाँकी छैन’ ओलीको भनाइ थियो । उनी यत्तिमा मात्र सीमित रहेनन्, नेता नेपाललाई लालगद्दारको संज्ञा दिँदै लाजशरम हराएका विश्वासघाती र अन्तरघाती भनेका थिए ।

    त्यसपछि धेरैको अनुमान थियो, ‘अब एमालेमा एकताको कुनै सम्भावना छैन, औपचारिक फुटको घोषणा हुन मात्र बाँकी छ ।’ तर विभिन्न प्रयासका बाबजुत पनि पुष्पलाल स्मृति दिवसका अवसरमा साउन ७ गते आयोजित कार्यक्रममा सम्बोधन गरेर फर्केका वरिष्ठ नेता नेपालले निकट नेताहरूसँग पार्टी विवाद मिल्ने अवस्थामा पुगेको बताएका थिए । ‘अब हामीले गर्नुपर्ने तयारी गर्नुस्’, उनले घनश्याम भुसाललगायतका नेताहरूसँग भनेका थिए । ‘साथीहरूकै आग्रहमा मैले सम्बोधन पनि नरम गरें । ओलीले पनि राम्रो कुरा गरेको सन्देश आएको छ । स्पष्टीकरण पठाउनु पर्दैन भन्ने खबर आएको छ रे’ उनले भनेका थिए ।

    त्यही दिन अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्नुअघि नेपालसहितका नेताहरूलाई लक्षित गरेर आममाफीको घोषणा गरेका थिए । साँझ भिडियो हेर्दा ओलीले अपराधीलाई माफी दिने तहबाट सम्बोधन गरेको भेटेपछि नेता नेपालको मुड परिवर्तन भएको र उनले अब ओलीलाई विश्वास गर्ने आधार सकियो भन्न थालेको उनीनिकट नेताहरुको भनाइ छ ।

    विवाद सुरु हुँदा पार्टीलाई सम्पूर्ण ढंगले २ जेठ २०७५ अघिको अवस्थामा पुर्‍याउनुपर्ने माधव नेपाल पक्षको एउटा माग थियो । तर जब दोस्रो पटक संसद पुनःस्थापना भयो, ओली सत्ताबाट बाहिरिए । त्यसपछि संस्थापन पक्षसँग नेपाल समूहको माग बढ्दै गयो । सत्ताबाट बाहिरिएपछि आफूलाई कमजोर महसुस गरिरहेका ओली पनि क्रमशः नेपाल समूहको मागप्रति नरम हुँदै गए ।

    नेपाल पक्षले राखेको दुई अध्यक्षीय प्रणालीको मागलाई समेत पूरा गर्न ओली तयार भइसकेका थिए । तर दिनप्रतिदिन आफूलाई शक्तिशाली महसुस गर्दै गएको नेपाल पक्ष त्यसमा पनि तयार भएन । नेता नेपालले दुई अध्यक्षको समान हैसियत हुने गरी पार्टी विधान संशोधन गर्नुपर्ने र अर्को अध्यक्ष आफू नभइ झलनाथ खनाल वा अष्टलक्ष्मी शाक्यलाई बनाउनुपर्ने भनेर सहमतिको प्रयासमा नेता नेपालले अर्को भाँजो हालेको संस्थापन पक्षको बुझाइ छ ।