एमालेको बैठक आज पनि

NepalOm ४ वर्ष अघि
  • काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक आज दिउँसो ३ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। माधव नेपाल पक्षलाई पनि सहमतिमा ल्याउने प्रयासस्वरूप शनिबार स्थगित बैठक आज बस्न लागेको हो । तामाङका अनुसार बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णतालगायतका विषयमा छलफल हुने छ।

    पार्टी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम बैठकमा विभिन्न आयोगहरु गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे पनि आज छलफल हुने उनले बताए । तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्ने बैठकअघि नेपाल पक्षलाई पनि सहमतिमा ल्याउन दोस्रो तहका नेताहरु लागि परेका छन् ।

    तर, शनिबार नै पार्टीको काठमाडौं जिल्ला कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई पार्टीमा ठाउँ नरहेको दोहोर्‍याए भने नेता नेपालले अखिल फोर्सको मार्चपासपछिको सभालाई सम्बोधन गर्दै ओलीलाई फेरि प्रधानमन्त्री बन्ने जालझेल नगर्न चेतावनी दिए । सहमतिको प्रयासमा शनिबार बैठक स्थगित गरेर नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका विघटित कार्यदलका सदस्यलाई समेत नेपालले १० बुँदे नजान्ने र ओलीलाई अध्यक्ष पनि नमान्ने अडान सुनाएको नेताहरुले बताए छन् ।

    यता ओलीले आजको बैठकअघि सहमति नआए ‘वारपार’ गरेर अघि बढ्ने निकट नेताहरुलाई बताइसकेकाले आजको बैठक निर्णायक हुन सक्ने आकलन गरिएको छ । तथापि आज पनि एमालेको विघटित कार्यदलमा रहेका सदस्यहरु भीम रावल, विष्णु पौडेल, सुवास नेम्वाङ, गोकर्ण विष्ट लगायतका नेताहरु ओली र नेपाललाई वार्ता गराउने प्रयासमा जुटेका छन् ।

    ओली र नेपालपछिका दोस्रो-तेस्रो तहका भनिएका कतिपय नेताहरुसमेत अब एमाले एकताको ‘च्याप्टर’ सकिएकाले ‘वारपार’ नै गरेर अघि बढ्नु पर्ने बताउन थालेका छन् । महासचिव ईश्वर पोखरेलले सहमतिमा नआए नेपाललाई पर्खेर सधैँ पार्टी नबस्ने बताएका छन् भने नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष पदबाट ओलीको राजीनामा अनि मात्र एकता भएको बताएकी छन् ।

    ०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ अघिको अवस्थाबाट पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल पक्ष संघर्षरत छ । तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउँदा पनि कार्यदलमा भएको १० बुँदे सहमतिबमोजिम पार्टी अघि बढाउँदा सहमतिमा नआएको भन्दै नेपालसँग संस्थापन पक्ष सकारात्मक छैन ।