
काठमाडौं । नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाललाई साथ नदिएका नेताहरुले पार्टी एकताका लागि जोड दिने निष्कर्ष निकालेका छन् । शुक्रबार महाराजगञ्जस्थित एरिकल इभेण्ट्स होटलमा भेला भएका उनीहरुले अहिलेको अवस्थामा देखा परेका पार्टीका समस्याहरुलाई हल गर्दै पार्टी एकतामा जोड दिने निष्कर्ष निकालेका हुन् ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका नेता गोकर्ण बिष्टले कार्यदलले बनाएको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न लगाउने र नेकपा एमालेलाई एकजुट गर्न आफूहरु लागि पर्ने बताए । उनले सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी विधेयकको विरोध गर्ने आफूहरुको एजेण्डा रहेको जानकारी दिए । नेता बिष्टले पार्टी एकताका लागि माधव नेपाललाई दल दर्ता गर्ने कुरा फिर्ता लिन लगाउने र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि लचकता अपनाउन आग्रह गर्ने विषयमा छलफल गरेको बताए ।
त्यसैगरी नेकपा एमालेका नेता भीम रावलले छलफलले तत्काल १० बुँदे सहमति व्यवहारमा कार्यान्वयन गर्न माग अघि सारेको बताए । उलने सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी विधेयक कुनै हालतमा स्वीकार्य नहुने बताए । नेकपा एमालेको एकताका लागि आगामी दिनमा अघि बढ्ने बताउँदै नेता रावलले पार्टीको हितका लागि सबै पंक्तिका नेताले सोचेर मात्रै निर्णय लिनुपर्ने बेला आएको पनि बताए ।