काठमाडौं ।
गाई जात्रा विशेषतः यो वर्षभित्र आफन्तजन गुमाउने परिवारका सदस्यहरूका लागि मृतकको सम्झना, स्नेह तथा निकटताका क्षणहरूको विशेष स्थान रहने कारणले अत्यन्त महत्वपूर्ण मानिन्छ । नेपाल भाषामा ‘गाईजात्रा’लाई ‘सापारु’ भनिन्छ । सडकमा गाई, गाईकै भेष अथवा विभिन्न मुखुण्डोसहितका झाँकी लगायत थुप्रै रौनक देखाउने गरिन्छ ।
गाईजात्रामा विभिन्न रसिक कुराकानी, ठट्यौली, चुटकिला र प्रहसन समेत हुनेगर्छ । मृत्यु भएका आफन्तको सम्झनामा गरिने जात्रामा आत्मसात् गरिएको रमाइलो र हाँसोका माध्यमहरूलाई विचार गर्ने हो भने गाईजात्राले जन्मिएपछि मृत्यु अवश्य हुन्छ र यसलाई जीवनको एउटा अनिवार्य प्रक्रियाका रूपमा लिएर अघि बढ्न मृतकका शोक सन्तप्त परिवारजनलाई आह्वान गरेको भान गराउँछ ।
गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रूपमा हिन्दू संस्कारमा पूजनीय गाईको जात्रा पनि हो । इतिहासका पन्नाहरूमा लेखिएका र किँवदन्तीरूका अनुसार, यस दिन काठमाडौँ उपत्यकाबासीहरूले यम् अर्थात् मृत्युका देवता यमराजलाई पूजा गर्ने गर्छन् ।
विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्ल आफ्ना नाबालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् । धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकी थिइन् । मृत्यु भनेको कसैको नियन्त्रण नहुने क्षण हो भन्ने यथार्थलाई राजाले कैंयनपल्ट बुझाउन खोजे पनि रानीका आँखा ओभानो नभएपछि राजाले एउटा जुक्ति निकाले ।
राजा प्रताप मल्लले वर्षभरि राज्यमा मृत्यु भएका नागरिकहरूका आफन्तलाई गाईसहित दरबार अगाडिबाट रानीले देख्ने गरी जात्रा निकाल्न आह्वान गरे । दरबार अघिल्तिर प्रदर्शित उक्त नौलो प्रकृतिको प्रदर्शनीले सबैको ध्यान तानेको थियो ।
आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरूको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्युको शोक आफूलाई मात्र परेको होइन रहेछ । बरु आफ्ना जस्ता छोरा, आमा, बुवा लगायतका अन्य पारिवारिक सदस्य गुमाएको पीडालाई सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् । राजाले उक्त जात्रामा विभिन्न ठट्टा, चटक र ब्यङ्गहरू पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले आप्mनो सम्पूर्ण पीडा बिसाएर फोहोरा छोडेर हाँसेकी समेत थिइन ।
अर्कातर्फ जात्रामा आएका व्यक्तिहरूले अनेक प्रदर्शनी र झाँकीका माध्यमबाट समाजका धनी ब्यक्तिहरूको आडम्बर र गरिबका पीडालाई साङ्केतिक रूपमा व्याख्या गर्ने शुरूवात गरेका थिए । अर्थात् गाईजात्रा विशेषतः वर्तमान सामाजिक, सांस्कृतिक तथा राजनीतिक गतिविधिका नकारात्मक पक्षहरूलाई समाजमा कलात्मक ढङ्गले चिरफार गर्ने चाड पनि हो ।
त्यस समयमा समाजले गरिब, निमुखाप्रति गरेको थिचोमिचो अनि अन्यायका उदाहरणलाई व्यङ्गात्मक ढङ्गले जनताहरूले राजा रानीसमक्ष प्रस्तुत गरेका थिए । गाईजात्रामा शुरुवात गरिएको यो ब्यङ्गको चलन पुस्तौँपुस्तामा हस्तान्तरण हुँदै आएको छ । आज पनि राजनीतिकर्मी, सञ्चारकर्मी र समाजका अन्य प्रतिष्ठित ब्यक्तिहरूलाई लक्ष्य बनाएर विसंगति, विकृति, कुरीति र आडम्बरलाई छेड हान्ने चलनका रूपमा प्रचलित छ । कसैले पनि गाईजात्रामा गरिएको ब्यङ्गप्रति रीस–इवि वा इख साँध्न पाइँदैन ।
आजको दिन यमराज अर्थात् मृत्युका देवताको पूजा अर्चना गरेमा मृतआत्माहरूले मुक्ति पाउने जनविश्वास पनि रहिआएको छ । गाईजात्रा निकाल्दा गाईलाई अघि अघि लाएर जात्रा निकालिन्छ । यदि गाई नभएमा कुमार केटोलाई गाई जस्तै बनाएर अघि लाइन्छ ।
अनि मुखिण्डो र रङ्गीचङ्गी पोशाक लगाएका मान्छेहरू बाजागाजाका साथ बेग्लै खाले ध्वजापताकाहरू तथा बितेका आफन्तजनको तस्बिरसहित जात्रामा समावेश हुन्छन् । गाईजात्रा काठमाडाँैको प्रमुख चाड भएता पनि देशका अरु ठाउँ र शहरमा पनि गाईजात्राको मनाइँदै आइएको छ ।
अर्कोतर्फ गाईजात्राले वर्षा अनि चाडपर्वहरू नजिकिँदै गरेको सङ्केत पनि गर्छ । पारिलो घाम, उज्याला दिनहरू, चिसिँदै गरेका बतास अनि खेतको सकिएको रोपाईँ । यसअर्थमा फुर्सदिलो दिनको मुक्तकण्ठले हाँस्ने अवसर पनि हो गाईजात्रा ।
हाँस्य कलाकारहरू आ–आफ्ना प्रहसन, ब्यङ्ग्य र हाउभाउले हामीलाई हँसाउन अनेक तयारीका साथ उपस्थित हुने यस चाडमा राजा, रैती, कर्मचारी, सिपाही र चिया पसलेसम्मलाई पेच हान्ने चलन छ । एक किसिमले भोग्दै, देख्दै आएका समाजका विकृति, घटना, परिघटनाको हाँस्यास्पद सारांश हो, गाईजात्रा ।
काठमाडौँ लगायत देशैभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति र जमघट रहन्छ । यस्ता गाईजात्रा विशेष कार्यक्रमहरू कतिपय बेला त १५ दिनसम्म चल्छन् । टिभी, रेडियो र पत्रपत्रिकासम्म यसअवधिभर गाईजात्रामय हुने गरेका छन् । खाडीदेखि अमेरिका, यूरोप लगायत जापानसम्म, नेपालीहरू जहाँ–जहाँ छन्, त्यहाँ–त्यहाँ गाईजात्रा विभिन्न स्वरूप र प्रारूपमा मनाइन्छ ।
गाईजात्राको अवसरमा आज काठमाडौँ उपत्यका भित्र सार्वजनिक बिदा समेत छ ।