
काठमाडौँ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
चौथाइवाले कांग्रेसको निमन्त्रणामा चार दिने अनौपचारिक भ्रमणका लागि नेपाल आएका हुन् । उनले आइतबारै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन ।
भेटमा चौथाइवालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । देउवा प्रधानमन्त्री भएपछि भारतबाट आएका उनी नै सबैभन्दा उच्चस्तरीय नेता हुन् ।
कांग्रेस सह–महामन्त्री प्रकाशसरण महतकाअनुसार प्रधानमन्त्री र चौथाइवालेबीर्च दुई पार्टीबीचको सम्बन्धलाई कसरी दुई देशको हितमा उपयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको हो । महतले चौथाइवाको भ्रमण मुख्यतः भाजपा र कांग्रेसको सम्बन्ध विस्तार र नेपाल–भारत सम्बन्धलाई कसरी बलियो पार्ने भन्ने सम्बन्धमै केन्द्रित रहको जानकारी दिए ।
अनौपचारिक भ्रमणका क्रममा चौथाइवालेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेतासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।