आज पनि सत्ता गठबन्धनका शीर्ष नेताको बैठक

NepalOm ३ वर्ष अघि
  • काठमाडौँ : सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ। शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको डेढ महिना नाघिसक्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकिरहेको छैन । गठबन्धनबीच मन्त्रालय भागबन्डा टुंग्याउने र मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल गर्न शीर्ष नेताको बैठक बस्न लागेको हो।

    पछिल्लो समय सत्ता गठवन्धन आवद्ध दलहरुबीच भागबण्डामा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मन्त्रिपरिषद् विस्तार र भागबण्डामा सहमति गर्न भन्दै गत शुक्रबारदेखि सोमबार साँझसम्म पटक पटक बैठक बसेको छ । तर कुन दलले कति मन्त्रालय लिने भन्नेमा भने सहमति जुटेको छैन । बैठक आज बिहान ९ बजे बालुवाटारमा बस्दै छ।

    यसअघि सोमबार बसेको शीर्ष नेताको बैठकले आजसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति गरेको थियो । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा रहेका छन्। २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यसयता चार पूर्ण मन्त्री र एक राज्यमन्त्रीकै भरमा सरकार संचालन गर्दै आइरहेका छन् ।