कोरोना संक्रमणबाट विश्वभर ४५ लाखभन्दा बढिको मृत्यु

NepalOm ३ वर्ष अघि
  • काठमाडौँ : कोरोना भाइरस (कोभिड- १९) को संक्रमणका कारण विश्वका कम्तीमा ४५ लाख मानिसको मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीले आफूलाई प्राप्त स्रोतहरूबाट यसको पुष्टि भएको जनाएको छ । विश्वभरबाट सङ्कलन गरेको सम्बन्धित मुलुकको आधिकारिक तथ्याङ्कअनुसार सोमबारसम्ममा कूल ४५ लाख ५० हजार ६२० कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।

    जुलाईको सुरुमा सबैभन्दा धेरै दैनिक सात हजार ८०० कोभिड सङ्क्रमितको मृत्यु भएको थियो । गत हप्ता प्रतिदिन औसत एक हजार २९० जनाको मृत्यु भएको र संयुक्त राज्य अमेरिका पुनः एक पटक विश्वकै सबैभन्दा बढी मृत्यु हुने मुलुकका रूपमा देखिएको छ । यस वर्षको जनवरीमा अमेरिकामा प्रतिदिन औसत तीन हजार ३८० जनाको मृत्यु दर्ता गरिएको थियो भने यो सङ्ख्या ग्रीष्मऋतुको सुरुसम्ममा घटेर २०० मा झरेको थियो । विश्वले पुनः डेल्टा भेरिएन्टको लहरको सामना गरिरहेका कारण कोभिडजन्य मृतकहरूको सङ्ख्यामा वृद्धि हुन थालेको हो। अति सङ्क्रामक क्षमता रहेको ‘डेल्टा भेरियन्ट’ अप्रिलमा भारतमा पहिचान भएदेखि विश्वभरका अधिकांश देशहरूमा फैलिएको छ । यस महामारीले सन् २०२० को तुलनामा सन् २०२१ मा बढी मृत्युको दाबी गरिसकेको छ ।

    गत वर्ष समग्रमा १९ लाखको महामारीका कारण मृत्यु भएको थियो । गत वर्षको तुलनामा जनवरीदेखि अहिलेसम्म आधिकारिक रूपमा दर्ता गरिएका सङ्क्रमित मृतकहरूको सङ्ख्या २६ लाखभन्दा बढी भएको बताइएको छ । विश्वभर खोपको उपलब्धता हुने र यसले भाइरस फैलिनबाट निकै हदसम्म रोक्ने अनुमानबीच भाइरसका नयाँ नयाँ रूपले गर्दा यसो हुन सकेको छैन । धनी र गरिब राष्ट्रहरूबीच खोपको उपलब्धतामा ठूलो असमानता रहेको गुनासाहरू पनि आएका छन् । अहिलेसम्म खोप लगाएको स्थितिलाई विश्लेषण गर्दा अफ्रिकामा प्रति १०० जना, युरोपमा ९९ र संयुक्त राज्य अमेरिकामा १११ जनामा सात जनाले कोभिड–१९ विरुद्धको एउटा खोप लिएका छन्।

    डेल्टाको विविधताविरुद्ध यी खोपहरू कम प्रभावकारी हुने भनाइहरू आए पनि विश्वभर खोप अभियानलाई महत्वका साथ अघि बढाइएको छ। अमेरिकी स्वास्थ्य अधिकारीहरूले गत हप्ता प्रकाशित गरेको एक अध्ययनअनुसार, संक्रमणविरुद्ध फाइजर/बायोएनटेक र मोडर्ना खोपको प्रभावकारितासँगै संयुक्त राज्य अमेरिकामा सङ्क्रमण दर ९१ देखि ६६ प्रतिशतमा झरेको छ । तथापी कोभिडबाट हुने गम्भीर प्रकारका क्षतिहरू रोक्न यी खोपहरू प्रभावकारी मानिएका छन् ।