
काठमाडौं।
कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या औंसीका दिन मनाइने पर्व हो । यो बर्ष यो पर्व मंगलबार परेको छ ।
कुशे औँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्मकार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशे औँसीमा पुर्याउँदछन् र यजमानहरूले पनि सिधा दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्दछन् ।
कुशे औँसीका दिन हिन्दू धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउँछन् । शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन् । गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरूद्वारा परम्परा अनुसार आआफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन् । विशेषगरी आजको दिन उत्तरगया भनेर चिनिने काठमाडौंको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावतीमा आआफ्ना दिवंगत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेहरूको ठूलो घुइँचो लाग्छ पितृदेवो भवभन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।