काठमाडौं। आज हरितालिका तीज । देशभरका शिव मन्दिर र शिवालयहरुमा दर्शनार्थीको विशेष भिड छ । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा हिन्दू नारीहरु रातो रङ्गमा सजिएर हर्षित र उत्साहित बन्दै भव्यरुपले नाँचगान गरेर तीज पर्व मनाउने गर्दछन् , तर यसपटक पहिले जस्तो भिड नभएपनि महिलाहरु मन्दिरहरुमा भेला भएका छन्।
समस्त नारी जाति यस धर्ती र सृष्टिकालागि अनुपम वरदान हुन् । नारी सृष्टिका कारक हुन र शक्तिका केन्द्र पनि हुन्, आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बि नारीहरुले आफ्नो शौभाग्य र परिवारको सु(स्वास्थ्य अनि दिर्घायूकालागि व्रत बस्ने दिन, अविवाहित नारीहरुले आफूले भनेजस्तै वर पाइयोस भनेर भगवानसँग आव्हान गर्ने दिन, आजको दिन मनोकामना पूरा हुने विश्वासको दिन अनि आजको दिन हर्षको दिन हो ।
तीजको रौनकमा थप उत्साह भनेको तीजका लोक भाकाहरु अनि मौलिक सङ्गीतहरु हुन् । हरेक वर्ष सयौं तीजका नयाँ भाकाहरु आउने गर्दछन् र तीजको उत्साहमा फरक सांगीतिक हस्ताक्षर गरेर जान्छन् । यो वर्षपनि त्यस्तै भएको छ । यद्धपी विश्वभर फैलिएको कोरोना महामारी अँझै नियन्त्रमा नआएको अवस्थाका कारण धेरै भिडभाड नगरी स्वास्थ्यका मापदण्डहरुलाई ख्याल गर्दै तीज मनाउन अनुरोधका गृह प्रशासन र स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरका महिलाहरुलाई आजको दिन विदा दिइएको छ ।