नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले १४औं महाधिवेशनमा फेरि सभापतिमा उठ्ने घोषणा गरेका छन् ।
सोमबार प्रेस युनियनका आफू निकट सञ्चारकर्मीलाई बालुवाटारमा बोलाएर देउवाले फेरि पनि सभापतिमा उठ्ने र जित्ने दाबी गरेका हुन् ।
६१ जिल्ला अधिवेशन र ६ वटा प्रदेशको अधिवेशनमा आफ्नो पक्षमा बहुमत देखिए लगत्तै देउवाले बालुवाटारमा फेरि सभापतिमा उठ्ने र चुनाव जित्ने घोषणा गरेका हुन् ।
एक सय ६० निर्वाचन क्षेत्रको अधिवेशन, ६१ जिल्ला अधिवेशन र ६ वटा प्रदेश अधिवेशनमा आफ्नो पक्षको बहुमत रहेको उनको दाबी छ । देउवा पक्षले ३१ वटा जिल्ला सभापति जित हात पारेको छ । ६ मध्ये दुई प्रदेशमा सभापति जितेको छ ।
नेपाली कांग्रेस मध्यपन्थी पार्टी भएको बताउँदै देउवाले यो कम्युनिष्ट वा दक्षिणपन्थी बाटोमा नजाने बताए । ‘देशमा ८० प्रतिशत जनता हिन्दु छन्, तर के गर्ने मैले भनेर मात्र नहुँदो रहेछ । संविधान संशोधनका लागि दुई तिहाइ चाहिन्छ । कराएर मात्र हुँदैन,’ उनले भने ।