
हिन्दु धर्ममा मोक्षदा एकादशीको विशेष महत्व छ । मोक्षदा एकादशीमा भगवान श्रीकृष्ण, विष्णु, महर्षि वेदव्यास र श्रीमद्भागवत गीताको विशेष पूजा गरिन्छ । यो व्रत पूर्ण श्रद्धा र भक्तिपूर्वक पालन गरेमा मानव पितृले मोक्ष प्राप्त गर्ने जनविश्वास रहेको छ । सबै प्रकारका कर्मको बन्धनबाट मुक्ति मिल्छ ।
यस व्रतको प्रभाव यति धेरै हुन्छ कि यसो गर्नाले व्यक्तिको जीवनका सबै पापहरू पनि नष्ट हुन्छन् भन्ने धार्मिक विश्वास रहँदै आएको छ । तसर्थ मानिसहरुले पूर्ण श्रद्धा र भक्तिका साथ यो पवित्र व्रत मनाउने गर्दछन् । यस पटकको पुण्य मोक्षदा एकादशी १४ डिसेम्बर अर्थात यही मंसिर २८ गते मंगलबार मनाइँदैछ ।
मोक्षदा एकादशी पूजा विधि
मोक्षदा एकादशी व्रत बस्नु भन्दा एक दिन अघि दशमी तिथीमा दिउँसो एक पटक मात्र भोजन गर्नुपर्छ । यसका साथसाथै राती खाना खानु हुँदैन ।
एकादशीको दिन बिहान सबेरै उठेर स्नान गरी भगवानको अगाडि व्रत बस्ने संकल्प लिनुपर्छ ।
व्रतको संकल्प लिएपछि धूप, दीप, नैवेद्य आदि चढाएर भगवान श्रीकृष्णको पूजा गर्नुपर्छ ।
यस दिन रातमा पूजा र जागरण पनि गर्नुपर्छ ।
एकादशीको भोलिपल्ट द्वादशीको पूजा गरेपछि आवश्यकतामा परेकालाई भोजन र दान गर्नाले विशेष लाभ मिल्छ ।
मोक्षदा एकादशीको कथा
कुनै समय गोकुल नगरमा वैखानस नामक राजाको शासन थियो । एक दिन राजाले सपनामा देखे कि उनका पिता नरकमा छन्, र आफ्नो छोराबाट मुक्तिको लागि बिन्ती गरिरहेका छन् । बाबुको अवस्था देखेर राजा रिसाए । भोलिपल्ट राजाले ब्राह्मणहरूलाई बोलाएर उनको सपनाको रहस्य सोधे । तब ब्राह्मणहरूले उनलाई भने कि यस सम्बन्धमा पर्वत नामक ऋषिको आश्रममा जानुहोस् र आफ्नो पिताको मोक्षको उपाय सोध्नुहोस् । राजाले पनि त्यसै गरे । पर्वत ऋषिले राजाको कुरा सुनेपछि उनी चिन्तित भए ।
उनले राजालाई आफ्ना पिताले पूर्वजन्मको कर्मका कारण नरक प्राप्त गरेको र मोक्षदा एकादशीको व्रतको बारेमा बताए । उनले राजालाई भने कि यदि तपाईंले आफ्नो पितालाई व्रतको फल अर्पण गर्नुभयो भने उहाँ मुक्त हुनुहुनेछ । त्यसपछि राजाले ऋषिको वचन अनुसार मोक्षदा एकादशीको व्रत राखे र ब्राह्मणहरूलाई भोजन प्रदान गरे, जसबाट राजाका पिताले मोक्ष प्राप्त गरे भन्ने विश्वास रहँदै आएको छ ।