विमानको ब्ल्याक बक्सको बारेमा तपाईले प्रायः सुन्नु भएको होला तर अब पृथ्वी पनि ब्ल्याक बक्स बन्न गइरहेको छ । पृथ्वीको यो ब्ल्याक बक्सले जलवायु परिवर्तन र अन्य मानव निर्मित खतराहरू रेकर्ड गर्नेछ । यससँगै मानव सभ्यताको पतनको कथा पनि लेखिनेछ । यो ब्ल्याक बक्स करिब ३२ फिट लामो हुनेछ र कहिल्यै टुट्न नसक्ने स्टीलको बनाइनेछ । यो अस्ट्रेलियाको तस्मानियामा बन्नेछ ।
यो स्टिलको ब्ल्याक बक्स हार्ड ड्राइभले भरिनेछ जसमा पृथ्वीको विनाशको पूर्ण विवरण ’बिना पूर्वाग्रह’ रेकर्ड गरिनेछ । यो ब्ल्याक बक्सले जलवायुको तापक्रम, समुद्रको सतह, जलवायुमा कार्बनडाइअक्साइडको मात्रा र अन्य धेरै कुराहरूबाट तथ्याङ्क सङ्कलन गर्नेछ जसले मानवजातिले जलवायु प्रकोपलाई रोक्न कसरी असफल भयो भन्ने कुराको दस्तावेजीकरण गर्नेछ ।
यो विमानमा जडान गरिएको ब्ल्याक बक्सजस्तै हुने अनुसन्धानकर्ताहरूले बताएका छन्, जसले विमानको स्थिति रेकर्ड गर्छ र दुर्घटना भएमा आवश्यक जानकारी दिन्छ ।
यसैबीच, वैज्ञानिकहरू अझै पनि यस विषयमा काम गरिरहेका छन् कि यदि पृथ्वी ध्वस्त भयो र यसमा कोही बाँचे भने, त्यो व्यक्तिले यो ब्ल्याक बक्स कसरी प्रयोग गर्ने हो । यो विश्वास गरिन्छ कि मानवको सानो समूह मात्र बाँच्न सक्छ र उनीहरूले कसरी ठूलो आगो, बाढी र खडेरीले मानव सभ्यताको अन्त्य ल्यायो थाहा पाउन सक्षम हुनेछन् । सोलारबाट चल्ने बक्सको मूल्य कति पर्छ भन्ने अझै स्पष्ट भइसकेको छैन् ।
यो ब्ल्याक बक्सको निर्माण सन् २०२२ को मध्यबाट सुरु हुँदैछ । यो सन् १९६८ मा रिलिज भएको फिल्म ‘२००१ः ए स्पेस ओडिसी’ मा देखाइएको ब्ल्याक मोनोलिथसँग मिल्दोजुल्दो हुने बताइएको छ । मार्केटिङ कम्पनी क्लेमेन्जर बीबीडीओले युनिभर्सिटी अफ तस्मानियाको सहयोगमा यो परियोजना बनाउँदैछ । कम्पनीले आफ्नो उद्देश्य पृथ्वीमा आगामी वर्षहरूमा मानव सभ्यता समाप्त भएमा बाँच्नेहरूले यसबाट के भयो थाहा पाउने बताएको छ ।
माल्टा, नर्वे र कतारमा पनि यो ब्ल्याक बक्स राख्ने विषयमा छलफल भएको थियो तर तस्मानियाको भूराजनीतिक र भौगोलिक स्थिरता राम्रो रहेको पाइएको थियो । तस्मानियामा सूर्य उदाउँदा सौर्य ऊर्जाको सहायताले वैज्ञानिक डाटा रेकर्ड गरिने बताइएको छ । यसमा समुन्द्री सतह, तापक्रम, महासागरको अम्लीकरण, कार्बन डाइअक्साइड, जीवहरूको विलुप्तता, विश्वका विभिन्न ठाउँमा भू–उपयोगमा हुने परिवर्तन आदि पर्छन् । त्यसकारण यो ठाउँ छनोटमा परेको छ ।