यो यस्तो प्रश्न हो, जुन थुप्रै मानिसहरू उपेक्षा गर्छन्— एक पलको लागि पनि आफूमाथि यो प्रश्न तेर्स्याउँदैनन् । यदि तपाईंले आफ्नो निम्ति केही समय निकाल्ने हो भने— यदि तपाईं परिवारका सदस्यहरूबाट टाढै रहेर, टिभी वा किताबमा नभुलिकन अथवा यहाँ सम्म कि झ्यालबाट बाहिर नहेरिकनै २४ घण्टासम्म यत्तिकै चूपचाप बस्नुभयो भने, यो प्रश्न तपाईंसामु विशाल रूपमा प्रकट हुनेछ, ″आखिर मेरो अस्तित्व के हो ?″ तपाईं यसलाई बेवास्ता गर्न सक्नुहुन्न ।
तर, तपाईं आफ्नो लागि अलिकति पनि समय निकाल्नुहुन्न । संसारलाई तपाईंको कामको आवश्यकता भएर तपाईंले आफूलाई व्यस्त राख्नुभएको होइन । तपाईं चाहे जोसुकै भएपनि, तपाईंबिना संसार चल्न सक्छ ।
तपाईं र म बिना यो संसार चल्न सक्छ । संसारलाई खाँचो भएकोले तपाईंले काम गरिरहनु भएको होइन; तपाईंले काम गर्नुको कारण के हो भने, तपाईंमा केही न केही गर्नैपर्ने बाध्यात्मक प्रवृत्ति छ । तपाईं यसलाई रोक्न सक्नुहुन्न । यसो कोसिस गरेर हेर्नुहोस्: तपाईंले आफ्नो शरीर र मनमा जे-जति गरिरहनु भएको छ, के तपाईं ती सबैलाई रोक्न सक्नुहुन्छ ?
बाध्यात्मक रूपमा केही गर्नु भनेको छुकछुके बाँदर जस्तो व्यवहार गर्नु हो । मनुष्यको प्रकृति भनेको त सचेत भई सक्रिय हुनु हो— अर्थात्, आवश्यकता अनुरूप कार्य गर्नु । हामीले संसारमा गर्नैपर्ने थुप्रै कामहरू छन्, तर कसैलाई पनि त्यसमा चासो छैन । थुप्रै मानिसहरू केही गरेझैँ देखाउनको लागि मात्रै काम गर्न रुचि राख्छन् । यसले कुनै पनि रूपमा मानिसहरूको जीवनलाई समृद्ध बनाउँदैन ।