
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मतदान सुरु हुन ढिलाइ भएको छ । आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान साढे ९ बजिसक्दा पनि सुरु भएको छैन ।
मतदान सुरु हुन अझै करिब एक घण्टा लाग्ने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बुथमा खटिने उमेदवारका प्रतिनिधिको टुंगो नलागेको र केही आवश्यक तयारी पूरा नहुँदा मतदान सुरु हुन नसकेको निर्वाचन समितिका पदाधिकारीले बताएका छन् ।
सबै व्यवस्था मिलाएर बिहान करिब साढे १० बजेपछि मात्रै मतदान सुरु हुने समितिका पदाधिकारीको भनाइ छ ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । तीनवटा केन्द्रमार्फत मतदानको व्यवस्था मिलाइएको छ । राष्ट्रिय सभागृह र भृकुटीमन्डपमा मतदान केन्द्र तोकिएको छ । मतदाताहरू लाइनमा छन ्। मतदानपश्चात् आजै मतगणना सुरु गर्ने तयारी छ ।
१३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि आज मतदान हुने छ ।
सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र सदस्यसहित एक सय ३४ पदका लागि भइरहेको निर्वाचनमा चार सय ८६ जना प्रतिस्पर्धामा छन् । दुई उपसभापतिका लागि सात जना, दुई महामन्त्रीका लागि ६ र आठ सहमहामन्त्रीका लागि १९ नेताले उम्मेदवारी दिएका छन् । त्यस्तै, एक सय २१ सदस्यका लागि चार सय ४९ जना चुनावी मैदानमा छन् ।
सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धा गर्दै छन् । देउवा–कृष्ण सिटौला समूह पहिलो चरणबाटै विजयी हुनेमा आशावादी देखिएको छ भने छुट्टाछुट्टै समूह बनाएर निर्वाचनमा होमिएका कोइराला, सिंह र निधिले निर्वाचन दोस्रो चरणमा पुर्याउने रणनीतिमा जुटेका छन् ।