
हङकङको वल्र्ड ट्रेड सेन्टरमा भीषण आगलागी भएको छ । जसका कारण तीन सयभन्दा बढी यहाँ फसेका छन् । बुधबार राति १२ बजेतिर आगलागी भएको खबर बाहिरिएको प्रहरीले जनाएको छ । एक ६० वर्षीया महिला बेहोस भएर भुइँमा लडेर अस्पताल लगिएको प्रहरीले जनाएको छ । आगलागीका कारण ३८ तले भवनमा धुवाँको मुस्लो फैलिएको थियो । जसका कारण अन्य तीन जनाको स्वास्थ्य पनि बिग्रिएको छ । यस भवनमा कार्यालय, मल, पसल र रेस्टुरेन्टहरू छन्
साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार अझै पनि धेरै मानिस भवनमा फसेका छन् । फायर फाइटरहरूले यी मानिसहरूलाई बाहिर निकाल्न कोसिस गरिरहेका छन् । भवनको तल्लो तलाबाट मानिसहरु भागेको देखिएको छ ।
एक प्रहरी प्रवक्ताका अनुसार उनीहरूलाई आगलागीको घटनासँग सम्बन्धित धेरै कलहरू आएका थिए र उनीहरूलाई बाक्लो धुवाँले भवनको पछाडिका सिँढीहरू ढाकेको जानकारी दिए ।
भवनको पाँचौं तलाको ओपन एरिया खण्डमा करिब १०० जनालाई सारिएको प्रारम्भिक जानकारीले देखाएको छ । यद्यपि, शपिङ सेन्टरको रेष्टुरेन्टमा दर्जनौं मानिस अझै फसेका छन् । अग्नि नियन्त्रकहरूले दुई जेट पानीको साथ आगो निभाउने प्रयास गरिरहेका छन् प्रवक्ताले भने कि श्वासप्रश्वास उपकरणले सुसज्जित दुई टोली पनि तैनाथ गरिएको छ ।
मर्मतको काम भइरहेको भवनको पहिलो तल्लाबाट आगलागी भएको अनुमान गरिएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा भवनको पाँचौं तलामा छानाको डेकमा वृद्धवृद्धासहित एक दर्जनभन्दा बढी मानिस फसेको देखिन्छ । राहत र उद्धार कार्य जारी छ ।