
पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा लिम्बु जातिको आराध्या देवताको थान पनि हो, जसलाई हिन्दू एवं बौद्धहरूले समेत पुज्ने महत्वपूर्ण धार्मिक स्थलका रुपमा पुजा गर्दै आएका छन् ।
पाथीभरा समुन्द्री सतहबाट १२ हजार फिट उचाइमा रहेको छ । विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।
अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुकुम्लुङ” भनेर चिन्दछन ।
लिम्बू भाषामा “मुकुम“को अर्थ शक्ति वा बल, “लुङ“को अर्थ ढुंगाको मूर्ती या प्रतीमा भन्ने जनाउँदछ । अर्थात लिम्बु जातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।
भनिन्छः– परापूर्वकालमा मुकुम्लुङ अर्थात पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ मुकुम्लुङ माङ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढङ्गले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए ।
त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा माङ ले दर्शन दिनु भयो । आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । आत्मवोध प्राप्त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्टपुष्ट भेडाको थुम्बा बलि दिए ।
ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे । त्यो भन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे ।
स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन । देवीमा चढाईएको बलि संख्यालाई दृष्टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली मुकुम्लुङ्माङमाङ लाई भक्तजनहरूले चढाएको बलि स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहि आएको छ । यहाँ हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट पाथीभराको दर्शन गर्नु आउने क्रम जारी छ ।
पाथीभरा देवीको मन्दिर निक्कै उचाईमा (३७९४ मिटर) रहेकोले यहाँको तापमान हमेशा शून्य को हाराहारीमा झर्ने गर्दछ । तीर्थयात्री तथा पर्यटकहरूले लेकलाग्न र न्युनतापबाट जोगिन घरेलु उपचारको सामग्रीमा तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू साथै लगे झनै वेश हुन्छ ।
पाथीभरा यात्राको लागि फाल्गुणदेखि कार्तिक महिनासम्मको अवधि उपयुक्त हुन्छ । झापाको बिर्तामोडबाट इलाम–फिदिम– हुँदै २७० किलोमिटर फुङलिङ मेची राजमार्गमा यात्रा गरी फुङलिङबाट सुकेटार – तल्लो फेदी – उपल्लो फेदी हुँदै पैदल हिँडेर पाथीभरा पुग्न सकिन्छ ।
अन्य मार्गमा धरानबाट धनकुटा–हिले हुँदै कोशी राजमार्गमा एक सय किलोमिटर यात्रा गरी वसन्तपुरबाट गुफापोखरी, गोर्गा दोभान हुँदै पैदल यात्रामा पुग्न सकिन्छ । यहाँबाट कञ्चनजंघा, कुम्भकर्ण, काङबाचेन, मकालु, लोत्से लगाएतका सुन्दर हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ ।
स्रोत : वीकीपीडीया