कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेपछि चीनको शीआन सहरमा लकडाउन

Lok Bhatta ३ वर्ष अघि
  • कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढेपछि उत्तरी चीनको शीयान सहरमा एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न अधिकारीहरूले निर्देशन दिएका छन्

    डिसेम्बर ९ देखि त्यहाँ १४३ जनामा कोभिड पुष्टि भएपछि सरकारले लकडाउन लगाएको हो । बुधवार घोषणा गरिएको प्रतिबन्धात्मक व्यवस्थामा प्रत्येक घरबाट एक जनाले दुई दिन बिराएर आवश्यक सामग्री किन्न घरबाहिर जान पाउँछन् ।

    चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति बनाएको छ । महामारी रोक्न त्यस अन्तर्गत सामूहिक परीक्षण र लकडाउन जस्ता उपाय अवलम्बन गरिएको छ ।

    आगामी फेब्रुअरीमा ग्रीष्मकालीन ओलिम्पिक्स आयोजना गर्न लागेकाले चीनले अहिले कोभिडबारे उच्च सतर्कता कायम गरेको छ ।
    शीयानवासीहरू विशेष परिस्थतिमामा बाहेक तथा अधिकारीहरूबाट अनुमति नलिई सहरबाट अन्यत्र जान पाउने छैनन् । स्थानीय समयानुसार मध्यरातदेखि यो व्यवस्था कार्यान्वयनमा आएको हो । यो प्रतिबन्धात्मक व्यवस्था कहिलेसम्म कायम रहन्छ भन्ने खुलाइएको छैन ।

    शीयान अवस्थित शान्शी प्रान्तमा लाखौँ मानिसको परीक्षण गरिएको छ । लामो दूरीका बस स्टेशनहरू बन्द भइसकेका छन् तथा सहरतर्फ जाने मार्गमा जाँचचौकी बनाइएको छ । शीयान विमानस्थलबाट हुने धेरै उडानहरू स्थगित भएका छन् । अत्यावश्यकबाहेकका व्यापारव्यवसायहरू बन्द भएका छन् भने सरकारी कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ ।

    राज्यद्वारा सञ्चालित ग्लोबल टाइम्स पत्रिकाका अनुसार गत सप्ताहान्त नै अधिकारीहरूले मदिरालय, व्यायामशाला र चलचित्रघर बन्द गर्न लगाएका थिए । सरकारी पक्षका अनुसार अहिले त्यहाँ कोरोनाभाइरसको डेल्टा भेरिअन्ट फैलिएको हो । तर ओमिक्रोनको विषयमा केही उल्लेख गरिएको छैन ।

    सरकारी सञ्चारमाध्यमले यो साता शीयानमा दोहोरो प्रकोप फैलिएको जनाएका छन् । त्यहाँ कोभिडबाहेक रक्तस्राव हुने ज्वरो फैलिएको विवरणहरू आएका छन् । उक्त ज्वरोको स्थानीय रूपमा बेलाबेलामा देखा पर्ने रोग हो । त्यसको मृत्युदर उच्च छ । यद्यपि त्यसलाई उत्तरी चीनमा फैलिने मौमसी रोग मानिएको छ र त्यो ग्रामीण क्षेत्रमा बढी देखिएको छ ।

    चीनले ग्रीष्मकालीन ओलिम्पिक्सका लागि कोभिड–१९ सर्वाधिक ठूलो चुनौती भएको स्वीकारेको छ । कोरोनाभाइसको प्रकोप चीनबाट नै सुरु भएको मानिन्छ ।
    त्यहाँ अहिलेसम्म एक लाख १३ हजार जनाभन्दा बढी मानिसका कोभिड पुष्टि भइसकेको छ भने ४,८४९ जनाको कोरोनाभाइरससँग सम्बन्धित कारणले मृत्यु भएको छ ।


    स्रोत : बीबीसी