बंगलादेशमा एक हजार यात्रु सवार डुंगामा आगलागी, ३६ जनाको मृत्यु

Lok Bhatta ३ वर्ष अघि
  • बंगलादेशको झलकाठी जिल्लामा शुक्रबार बिहान एउटा डुंगामा आगलागी भएको छ । जसका कारण डुंगामा सवार ३६ जनाको मृत्यु भएको छ भने २ सय जना घाइते भएका छन् । झलकाठी जिल्लाका अतिरिक्त उपायुक्त मोहम्मद नजमुल आलमले डुंगामा करिब एक हजार यात्रु सवार रहेको र ढाकाबाट सुगन्धा नदी पारी बरगुना जिल्ला जाँदै गरेको डुंगा रहेको बताए ।

    बंगलादेशको राजधानी ढाकाबाट २५० किलोमिटर टाढा रहेको झलकाठी गाउँ नजिक शुक्रबार डुंगा दुर्घटना भएको हो । स्थानीय प्रहरी प्रमुख मोइनुल इस्लामले मध्य नदीमा रहेको ओबिजान नामक तीन तले डुंगामा आगलागी भएको बताए । हामीले अहिलेसम्म ३६ जनाको शव निकालेका छौं, मृतकको संख्या बढ्न सक्छ ।

    उनले आगलागीका कारण धेरैको ज्यान गएको र केहीले खोलामा हाम फालेर डुबेर ज्यान गुमाएको बताए । इन्जिन रुमबाट सुरु भएको आगो पूरै डुंगामा फैलिएको आशंका गरिएको छ । आगलागीमा परी घाइते भएका २ सय जनालाई अस्पतालमा भर्ना गरिएको छ ।