आज सुदूरपश्चिममा पुसपन्ध्र, रातभरि डोटेली लोककथा सुन्ने प्रचलन

Lok Bhatta ३ वर्ष अघि
  • आज सुदूरपश्चिम र आसपासका जिल्लाहरुमा पुसपन्ध्र पर्व मनाइदैछ । खासगरी सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पुस महिनाभरि गाउँखाने कथा र डोट्याली लोक कथाहरु बुढापाका र जान्नेसुन्ने व्यक्तिबाट सुन्ने प्रचलन रहँदै आएको छ ।

    यस महिना, जंगलबाट तरुल खनेर ल्याइन्छ । विशेष गरि आजको रात तरुल, शखरखण्ड लगाएतका कन्दमुलहरु, गीठा, फर्सी, निसौसे अर्थात भुने लगाएतका विभिन्न पन्ध्र परिकार पकाएर सबै मान्छेहरु एक ठाउँमा जम्मा भई रातभरि तीनै परिकार खाने र डोट्याली लोककथा भन्ने र सुन्ने गरिन्छ ।

    दिउसोको समय यी खाद्यबस्तुहरुको बन्दोबस्त गरिन्छ । जंगलमा गएर तरुल खनेर ल्याएइन्छ । जो सँग जे छ त्यसलाई बाँडेर नहुनेहरुलाई पनि दिइन्छ । रातभरि आगो ताप्दै सबै मानिस एकैठाउँमा जागराम बसेर रमाइलो गर्ने चनल छ ।

    पछिल्लो समय मानिसहरु आधुनिकताको नाममा अमूल्य संस्कृतिका पाटाहरु भुल्दै गएका छन् । प्रविधिको विकासले केही मानिसहरुमा नकारात्मक प्रभाव बढ्दै गएकाले यी पर्वहरुको पुरानो मौलिक पन गुम्ने खतरामा छ । पुराना गाउँखाने कथा र लोककथाहरु प्रतिको व्यवास्ताले यि सम्पदाहरु मासिदै गइरहेका छन् । यो पर्व लोककथा र लोक संस्कृतिको जगेर्ना गर्ने पर्वपनि हो । आम मानिसले यसको महत्व बुझ्नु जरुरी छ ।