रेशम चौधरी टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितको हत्याको आरोपपछि डिल्लीबजार कारागार जेलमा छन् । फरार रहेको अवधिमा चौधरीले २०७४ को चुनावमा प्रतिनिधि सभा सदस्य जितेका थिए ।
उनी राष्ट्रिय जनता पार्टीमा आवद्ध थिए । राष्ट्रिय जनता पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि चौधरी सोही पार्टीमै थिए । तर अहिले थरुहट आन्दोलन र बन्दी रिहाबारे सरकार, मधेसी दल कसैले पनि चासो नदेखाएपछि आफैं दल खोल्ने निर्णयमा पुगेका हुन् ।
उनले सोमबार श्रीमती श्रेष्ठ रञ्जिताको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका हुन् । आफ्नो अध्यक्षतामा उक्त पार्टी गठन सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमतीको नाममा पार्टी गठन गरेका छन् ।
डिल्लीबजार कारागारका अनुसार चौधरीले पार्टी दर्ताका लागि आफैं निर्वाचन आयोग जान खोजेका थिए। उनले आइतबार कारागार व्यवस्थापन विभाग र निर्वाचन आयोगमा निवेदन दिएका थिए। तर उनी जान पाएनन् ।
संसदीय चुनाव हुने बेला पनि चौधरी जेलमै थिए । त्यसबेला श्रीमतीलाई मनोनयन दर्ता गराउन दिइएको थियो । आफ्नो उपस्थिति बिना चुनाव जितेका थिए ।
चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि बाजागाजासहित नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगेका हुन् । अहिले पनि जेलमा रहँदा नै उनको पार्टी दर्ता गर्न लागिएको हो ।