भनिन्छ, मकर संक्रान्तिको दिन सूर्यले आफ्ना छोरा शनिसँग भेट गर्नुहुन्छ । मकर संक्रान्तिमा शुक्रको उदय पनि हुन्छ । यही कारणले गर्दा खरमासपछि मकर संक्रान्तिबाट सबै शुभ कार्यको सुरुवात हुन्छ । मकर संक्रान्ति भगवान सूर्यको पूजा गर्ने सबैभन्दा ठूलो पर्व हो । यस दिनबाट शरद ऋतु ढल्न थाल्छ र वसन्तको आगमन हुन्छ ।
मकर संक्रान्तिको पर्वमा गंगा स्नान, व्रत, कथा, दान र भगवान सूर्यदेवको पूजा–आराधनाको फलदायी महत्त्व रहेको छ । यस दिन सूर्यदेवको पूजा गरेपछि गरेको दान फलदायी हुने जनाइएको छ । यस दिन तिलबाट बनेको वस्तु दान गर्नुपर्छ । यति मात्र होइन १४ वटा वस्तु दान गर्नुको पनि विशेष महत्व छ ।
पौराणिक मान्यता अनुसार मकर संक्रान्तिको दिन सूर्य भगवान आफ्नो पुत्र शनिको घरमा पुग्छन् । मकर र कुम्भ राशिको स्वामी शनि हो । यही कारणले गर्दा यो पर्वलाई बाबु छोराको अनुपम मिलनसँग पनि जोडिएको छ । यो दिन भगवान विष्णुले असुरहरूमाथि विजय प्राप्त गरेको मानिन्छ । मकर संक्रान्तिको दिन भगवान विष्णुले पृथ्वीमा रहेका राक्षसहरूलाई मारेर तिनीहरूको शिर काटेर मन्दरा पर्वतमा गाडेका थिए । त्यसयता यो पर्व मनाइएको पौराणिक मान्यता छ ।