के तपाईलाई थाहा छ ज्येष्ठ नागरिकलाई किन धेरै चिसो लाग्छ ?

Lok Bhatta ३ वर्ष अघि
  • अहिलेको समय जाडो बढिरहेको छ । देशका कुनै भूभागहरुमा वर्षा र हिमपातका कारण चिसोले झनै सताउन थालेको छ । तर, तपाईंले देख्नु भएको होला कि चिसो मौसममा ज्येष्ठ नागरिकहरू बढी जोखिममा हुन्छन् । यस्तो अवस्थामा बृद्धबृद्धाहरुलाई किन बढी चिसो लाग्छ र चिसो लाग्नुको कारणहरु के के हुन्, जसका कारण वृद्धवृद्धाहरु चिसोमा समस्यामा रहन्छन् भन्ने थाहा पाउँनु जरुरी हुन्छ ।

    बुढेसकालमा मेटाबोलिज्म निकै कम हुने भएकाले मानिसलाई चिसो महसुस हुने एउटा कारण छ ।विशेषज्ञका अनुसार थर्मोसेप्टरहरू शरीरको छालामा विशेष कोशिकाहरू हुन्, जसले तापमानमा भिन्नता पत्ता लगाउन सक्षम हुन्छन् । तिनीहरूको स्थान र संख्याको कारणले छालाको संवेदनशीलता निर्धारण गर्दछ। यस्तो अवस्थामा ज्येष्ठनागरिको थर्मोसेप्टर घनत्वमा कमी आउँछ, जसले उनीहरुलाई बढी चिसो महसुस हुन्छ ।

    शरीरमा सतही नसाहरू पनि हुन्छन्, जसले शरीरको तापक्रम स्थिर राख्न मद्दत गर्छ । तर, उमेर बढ्दै जाँदा यी नसाहरूमा रगतको प्रवाह कम हुँदै जान्छ, जसका कारण ज्येष्ठ नागरिकहरुलाई चिसो बढी लाग्छ ।

    उमेर बढ्दै जाँदा छाला मुनिको बोसोको तह विस्तारै पातलो हुँदै जान्छ । यसले शरीरको इन्सुलेशन कम गर्छ, जसका कारण वृद्धवृद्धाहरूलाई जाडोमा बढी चिसो महसुस हुन्छ । यस कारण यी कुराहरुमा विशेष ख्याल गर्नुपर्ने हुन्छ र जाडोबाट जेष्ठनागरिकलाई सुरक्षित राख्नु पर्छ ।