पश्चिमी अफगानिस्तानमा भूकम्पको धक्का २६ जनाको मृत्यु

Lok Bhatta ३ वर्ष अघि
  • अफगानिस्तानको पश्चिममा रहेको बादघिस प्रान्तमा सोमबार दिउँसो दुई वटा भूकम्पको धक्काले तुर्कमेनिस्तानसँग जोडिएको सीमा क्षेत्रलाई हल्लायो र यसका कारण भएका दुर्घटनामा अहिलेसम्म २६ जनाको मृत्यु भएको छ । भूकम्प प्रभावित दुर्गम गाउँमा राहत र उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले आशंका गरेका छन् ।

    भूकम्पका कारण धेरै घर भत्किएको प्रदेश संस्कृति तथा सूचना विभागका प्रमुख बस मोहम्मद सरवारीले जानकारी दिए । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार दिउँसो २ बजे ५.३ रेक्टर स्केलको पहिलो भूकम्प गएको थियो भने ४ दशमलव ९ रेक्टर स्केलको दोस्रो भूकम्प अपराह्न ४ बजे महसुस गरिएको थियो ।

    प्रान्तको संस्कृति तथा सूचना विभागका प्रमुख बस मोहम्मद सरवारीका अनुसार प्रान्तको दक्षिणी भेगमा पर्ने कादिस जिल्लामा सबैभन्दा बढी क्षति र मानवीय क्षति भएको छ । यसअघि शुक्रबार राति पाकिस्तानको उत्तरी क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो । पाकिस्तानको मौसम विभागका अनुसार यसबाट कुनै क्षति नभएको बताइएको छ ।