सामान्य अवस्थामा सङ्क्रमण भएको तीनदेखि छ महिनासम्म कोभिड–१९ विरुद्धको खोप लगाउन नपर्ने विज्ञहरू बताउँछन्। सङ्क्रमण भएपछि व्यक्तिको शरीरले भाइरसविरुद्ध प्राकृतिक रूपमा काम गर्छ। त्यसैले खोपका लागि ढुक्कसँग तीनदेखि छ महिना कुर्दा हुन्छ।
अर्का सङ्क्रामक रोग विज्ञ डा. अनूप सुवेदी भने दुई महिनापछि खोप लगाउन हुने बताउँछन्।ओमिक्रोनको लहर उर्लिएर आउँदा बूस्टर मात्रा लगाउन पाए सङ्क्रमण भइहाल्दैन कि भन्ने हेतुले खोप लगाउन थालिएको हो। यदि अहिले कसैलाई सङ्क्रमण भइसकेको छ भने खोप लगाउन हतार गर्नु पर्दैन।
अहिले सङ्क्रमित भएका मानिसहरूमा विकास हुने एन्टिबडीका कारण एकदेखि दुई महिनाभित्र फेरि सङ्क्रमण हुने सम्भावना शून्यप्रायः रहेको सुवेदी बताउँछन्।
अहिले लगाएको खोपले नयाँ सङ्क्रमणविरुद्ध काम गर्छ या गर्दैन यकिन गर्न नसकिने भएकाले पनि सङ्क्रमण भएकाले खोप लगाउन हतार गर्नु नपर्ने उनको तर्क छ।
सङ्क्रमणपछि कुन समूहले खोप लगाउने?
रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरूले भने सङ्क्रमणमुक्त भएको दुई सातापछि खोप लगाउन मिल्ने विज्ञहरूको सुझाव छ।
किमोथेरापी गराइरहेका क्यान्सरका बिरामी, नियमित औषधि सेवन गरिरहेका दीर्घरोगी र ज्येष्ठ नागरिकहरूमा सङ्क्रमणले दिने सुरक्षा कम हुने भएकाले उनीहरूले सङ्क्रमणमुक्त भएको १४ दिनपछि खोप लगाउन हुने डा. सुवेदीको सुझाव छ।
लक्षण देखिएर सङ्क्रमण पुष्टि नहुँदा के गर्ने?
कसैलाई कोरोनाभाइरस सङ्क्रमणको लक्षणसँग मिल्दो स्वास्थ्य समस्या देखिएको छ। तर सङ्क्रमण पुष्टि भएको छैन भने ती व्यक्तिले पनि खोप लगाउन नहुने डा. सुवेदी बताउँछन्।
“परिवार वा नजिकका कसैलाई सङ्क्रमण भएको छ। त्यो अवस्थामा तपाईँलाई लक्षण छ, तर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएन भने पनि तपाईँले आफूलाई सङ्क्रमित नै हुँ भन्ने बुझ्नुपर्छ,” उनले भने,”सङ्क्रमित सरह सावधानी र सुरक्षा अपनाउनुपर्छ । खोप लगाउनु हुँदैन।”
साभार : बीबीसी