अमेरिकामा हिम तूफान : न्यूयोर्क–न्यू जर्सीलगायत धेरै ठाउँमा आपतकाल घोषणा

Lok Bhatta ३ वर्ष अघि
  • अमेरिकाको पूर्वी भागमा हिउँ आँधी र तीव्र हावाका कारण मानिसहरु धेरै समस्यामा परेका छन् । यसलाई पछिल्ला केही वर्षको सबैभन्दा खराब आँधी (युएस बम साइक्लोन) पनि भनिएको छ। जसका कारण सवारी आवागमन प्रभावित भएको छ र करिब ७ करोड जनता बिजुलीविहीन भएर बस्न बाध्य छन् ।

    न्यूयोर्क र बोस्टन जस्ता प्रमुख शहरहरूमा अवस्था सबैभन्दा खराब छ । राष्ट्रिय मौसम सेवाले शनिबार यसलाई ’बम चक्रवात’ भनेको छ । न्यूयोर्क र म्यासाचुसेट्सका सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा साँझसम्म दुई फिट (६१ सेन्टिमिटर) हिउँ जमेको छ, म्यासाचुसेट्सका ९५,००० भन्दा बढी घरहरू बिजुलीविहीन छन्।

    हिउँ परेको मौसमको प्रभाव फ्लोरिडाको दक्षिणी भागसम्म देखिएको छ । मानिसहरूलाई अत्यावश्यक बाहेक यात्रा नगर्न सल्लाह दिइएको छ । न्यूयोर्कको लङ आइल्याण्डमा एक महिला आफ्नो कारमा मृत फेला परेकी छन् । हिउँ हटाउने मेसिनहरू न्यूयोर्कको सडकहरूमा देखिएका छन् । यहाँको मध्य भागमा ७ दशमलव ३ इन्चसम्म हिउँ परेको छ ।

    जसका कारण क्षेत्रीय रेलहरू आंशिक रूपमा बन्द भएका छन्। टाइम्स स्क्वायरका चर्चित होर्डिङहरू हिउँको हावाका कारण ढाकिएको देखिएको छ ।

    भारी हिमपातका कारण सबै व्यवसाय ठप्प छन् । न्यूयोर्क र छिमेकी राज्यहरू न्यू जर्सी, भर्जिनिया, मेरील्याण्ड र डेलावेयरले सबै वा राज्यहरूको केही भागका लागि आपतकालिन अवस्था घोषणा गरेका छन् । न्यूयोर्कका गभर्नर क्याथी होचुलले शनिबार बासिन्दाहरूलाई आँधीको खतरा समाप्त नभएको चेतावनी दिएका छन् ।