मंगलबार हेटौंडा पुगेका पत्रकार सम्मेलन गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले आफूले राप्रपा परित्याग गरेको घोषणा गरेका हुन् ।
‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टी मै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ,’ थापाले भनेका छन्, ‘राप्रपामा रहँदा पार्टीका साथी सहयोगी र शुभचिन्तकबाट प्राप्त सहयोग, सद्भाव र स्नेह प्रति म सदैव आभारी रहने छु। पार्टीमा रहँदा बिताएका क्षणहरूप्रति म सदैव गौरव गरिरहने छु। राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन सबैको भलो होस् भन्ने कामना गर्दछ ु।’
यसअघि सोमबार उनले आफूपक्षीय नेताको भेला गरेर सरकारले स्थानीय चुनावको मिति घोषणा गर्नुअघि नै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनबाट आफूले उठाएका माग सम्बोधन हुनुपर्ने बताएका थिए।
गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासले चलखेल गरेर आफूलाई हराएको आरोप लगाएका थिए ।