चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Lok Bhatta ३ वर्ष अघि
  • बुधबार बिहान चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । मंगलबार राति बौद्धबाट घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए। आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ‐ महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले भने।

    पाण्डेका अनुसार घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुने पनि बिहानमात्र उठेर हेरेका रहेछन्। एउटा खुट्टा कारमा थियो। जिउँ भुइँमा लडिरहेको थियो। अल्झिए जस्तो देखिन्छ। टाउकोमा चोट लागेको देखिन्छ,’ प्रनाउ पाण्डेले भने।

    पाँच दशकअघि गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाको कलकत्ते काइँयो केश मेरो बाँगो, पानी पर्‍यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्। एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए।