स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदै

Lok Bhatta २ वर्ष अघि
  • स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवारहरुको मनोनयन प्रक्रिया शुरु भएको छ । निर्वाचन आयोगले वैशाख११ र का लागि देशभरका मुख्य निर्वाचन कार्यालय कार्यालयमा मनोनयनको मिति तोकेको हो । आज बिहान १० बजेदेखि भोलि अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुले आफ्नो नाम मनोनयन गर्न पाउनेछन् ।

    उम्मेद्वारी दर्ताका क्रममा आचारसंहिताको पालनामा आयोगले राजनीतिक दलहरुलाई आग्रह गरेको छ । मनोनयन दर्ताका क्रममा झडप र अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनलाई अनुरोध गरिएको निर्वाचन आयोगले बताएको छ ।

    देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्र रुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ । ७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । यी सबै तहमा प्रमुख तथा मेयर र उपप्रमुख तथा उपमेयर पदका लागि मनोनयन हुनेछ ।

    त्यसैगरी देशभरका स्थानीय तहमा ६७४३ वडाहरु छन् । हरेक वडाका लागि एकजना वडाध्यक्ष, दुईजना वडा सदस्य, एकजना महिला सदस्य र एकजना दलित महिला सदस्यका लागि मनोनयन दर्ता हुनेछ ।