धनगढीको मेयरमा गोपाल हमाल विजयी

Lok Bhatta ३ वर्ष अघि
  • कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा मेयरमा गोपाल हमाल निर्वाचित भएका छन् । निर्वाचित भएसँगै उनले सचिवालय सदृढ बनाउने र अधुरा योजनाहरु समयसीमा भित्र सम्पन्न गर्ने कामलाई पहिलो प्राथमिकता दिने बताएका छन् ।

    हमालले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित गरेका हुन् । अघिल्लो निर्वाचनमा हमाल ओडसँग पराजित भएका थिए ।

    हमालले कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत ल्याएका छन् । निकटतम् प्रतिस्पर्धी ओडले १४ हजार ८१७ मत मात्रै पाए । तेस्रो भएका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याएका छन् ।

    २०७४ सालको स्थानीय तहको चुनावमा हमाल कांग्रेसका ओडसँग २७ सय मतान्तरले पराजित भएका थिए । तर यसपटकको चुनावमा कांग्रेसले माओवादी, एकीकृत समाजवादीको साथ पाउँदा पनि ओडले लज्जास्पद हार व्यहोरेका छन् ।

    उपमेयरमा भने एमालेकी कन्दकला राना विजयी भएकी छन् । मतगणनाको सुरूआतदेखि अग्रता लिएकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई २८०९मतान्तरले रानाले पराजित गरेकी हुन् ।

    १९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकामा कांग्रेसले ११ वटा वडा जितेको छ भने एमालेले ६ वटा र माओवादीले २ वटा वडा जितेको छ ।