सार्वजनिक शौचालय प्रयोग गर्न दिन इच्छुकले ७ दिनभित्र सम्पर्क गर्न महानगरको आग्रह

Lok Bhatta २ वर्ष अघि
  • काठमाण्डौ माहानगरपालिकामा रहेका होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्थाको शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुकहरुलाई बबरमहलस्थित सार्वजनिक निजी साझेदारी इकाइ वा महानगरपालिकाको प्रशासन विभागमा सम्पर्क राख्न काठमाडौं महानगरपालिकाले आह्वान गरेको छ । आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुक व्यक्ति तथा निकायहरुलाई ७ दिनभित्र सम्पर्क राख्न भनिएको छ ।

    मेयरमा बालेन्द्र साह (बालेन) मेयरमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले काठमाडौं महानगरभित्रका निजी शौचालयलाई पनि सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो । सो निर्णयलगत्तै कतिपयले व्यवशायीका आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरिएको सूचनासहितको बोर्ड राखेको तस्वीरहरु समेत सार्वजनिक भएका छन् ।

    यस अभियानलाई व्यवस्थित ढंगले लैजानका लागि आफ्नो शौचालय प्रयोग गर्न दिन इच्छुकहरुसँग महानगरपालिकाले औपचारिक रुपमा सम्झौता नै गर्ने बताइएको छ । आफ्नो शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिनेहरुले शौचालयलाई आवश्यक पर्ने पानी र सरसफाइको प्रवन्ध आफैं गर्नुपर्ने भनिएको छ ।