बालेन्द्र शाह मेयर बनेपछि जेठ २४ बाट कल सेन्टर सुरु भएको थियो । सक्रिय रुपमा सुरु भएको काठमाडौं महानगरपालिकाको कल सेन्टरमा २० दिनमा ४ हजार ५ सय ३९ गुनासा आएका छन् । कल सेन्टरमा सम्पुर्ण गुनासा मध्ये ४ हजार १ सय २८ गुनासा टिपोट योग्य रहेको महानगरपालिकाले जनाएको छ ।
महानगरले कल सेन्टरलाई प्रभावकारी बनाउन कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ) का सम्पर्क अधिकारीलाई गुनासो सुनुवाईको प्रगति ट्रयाकिङ र अद्यावधिक सम्बन्धी तालिम दिएको छ । विभाग र वडाबाट तोकिएका अधिकारीहरुलाई सभा गृहस्थित कम्प्युटर ल्यावमा ग्रिभान्सेस रिअड्रेसिङ मेकानिज्यम सफ्टवेयरमा आधारित तालिम दिएको हो ।
गुनासो सुन्ने कर्मचारीले अपनाउनु पर्ने सावधानी, उसमा हुनु पर्ने धैर्यता, गुनासोकर्ताले भनेका कुरा टिपोट गर्ने तथा सफ्टवेयर इन्ट्री गर्ने, गुनासो सम्बन्धित अधिकारीलाई पठाउने तरिका पनि सिकाइएको महानगरपालिकाले जनाएको छ ।
अहिलेको चरणमा सम्पर्क अधिकारीलाई गुनासो हेर्ने, सुन्ने, कामसँग सम्बन्धित अधिकारीसँग गुनासो पुर्याउने, गुनासो गरिएको अवस्थाको तस्विर र सुधार भएपछिको तस्वीर लिएर दाँज्ने तथा काम भएपछि समापन टिप्पणी (क्लोजिङ् स्टेटमेन्ट) विवरण लेख्ने तरिका सिकाइएको महानगरको सूचना प्रविधि विभागले जनाएको छ ।