साधु, सन्यासीहरूले किन रुद्राक्ष लगाउँछन् ?

Lok Bhatta ३ वर्ष अघि
  • जो व्यक्तिलाई लगातार यात्रा गरिरहनु पर्ने हुन्छ वा जसको खाने र सुत्ने ठाउँको ठेगान हुँदैन, ती व्यक्तिहरूका निम्ति रुद्राक्ष असाध्यै राम्रो सहारा हो, किनकि यसले तपाईंको आफ्नै ऊर्जाको सुरक्षा कवच बनाउँछ । तपाईंले यो ख्याल गर्नुभएको हुनुपर्छ कि जब तपाईं कुनै नयाँ ठाउँमा जानुहुन्छ, कहिलेकाहीँ तपाईं तुरुन्तै निदाइहाल्नु हुन्छ; जबकि, कुनै निश्चित ठाउँमा जानुभयो भने, शरीर पूरै थाकेको भए तापनि तपाईं निदाउनै सक्नुहुन्न ।

    यस्तो किन हुन्छ भने, यदि तपाईं वरपरको परिस्थिति तपाईंको ऊर्जाको लागि सहायक छैन भने, यसले तपाईंलाई स्थिर र शान्त रहन दिँदैन । साधुहरू र सन्यासीहरू निरन्तर यात्रा गरिरहने भएकाले फरक–फरक ठाउँहरू र परिस्थितिहरूले समस्या उत्पन्न गर्ने सम्भावना हुन्छ । उनीहरूको निम्ति कहिल्यै एउटै ठाउँमा दुई रात नबिताउने भन्ने नियम हुन्थ्यो । अहिले एकपटक पुनः मानिसहरू आफ्नो पेशा वा व्यवसायको कारण भिन्न–भिन्न ठाउँहरूमा खाने र सुत्ने गर्न थालेका छन्— त्यसैले, रुद्राक्ष सहयोगी हुन सक्छ ।

    अर्को कुरा के भने, जङ्गलमा बसोबास गर्ने साधु र सन्यासीहरू जुनसुकै पोखरीको पानी पिउँदैनथे, किनकि कैयौँ पटक प्रकृतिमा रहेका विभिन्न ग्याँसहरूले गर्दा पानी विषालु वा दूषित भएको हुन सक्दछ । यदि उनीहरूले त्यस्तो पानी पिए भने, यसले उनीहरूलाई अपाङ्ग बनाउन सक्दछ वा ज्यान नै लिन सक्दछ ।

    जब तपाईं रुद्राक्षको मालालाई समातेर पानीको माथी झुण्ड्याउनु हुन्छ, यदि पानी राम्रो छ वा पिउन योग्य छ भने, रुद्राक्ष दाँयातिरबाट वा घडिको सुईको दिशामा घुम्नेछ; यदि पानी विषालु छ भने, यो बाँयातिरबाट वा घडिको सुईको उल्टो दिशामा घुम्नेछ । जुन कुराको प्राण–ऊर्जा सकारात्मक हुन्छ, त्यसमाथि रुद्राक्ष झुण्ड्याउँदा, घडिको सुईको दिशामा घुम्नेछ । जुन कुराको प्राण–ऊर्जा नकारात्मक हुन्छ, त्यसमाथि रुद्राक्ष झुण्ड्याउँदा, घडिको सुईको उल्टो दिशामा घुम्नेछ ।