बैकुण्ठ चतुर्दशी कार्तिक पूर्णिमाको एक दिन अगाडि मनाइन्छ। हिन्दू क्यालेन्डर अनुसार कार्तिक महिनाको शुक्ल पक्षको चतुर्दशी तिथिको विशेष महत्व रहेको छ । यसलाई बैकुण्ठ चतुर्दशी भनिन्छ । बैकुण्ठ चतुर्दशीका दिन श्रीहरि विष्णु र भगवान शंकर दुवैको पूजा आराधना हुने भएकाले कार्तिक महिनाको शुक्ल पक्षको चतुर्दशीलाई भगवान् विष्णुका साथै भगवान शिवको भक्तजनका लागि पवित्र मानिन्छ ।
यस दिन श्रीहरिविष्णुको पूजा गर्नाले साधकले बैकुण्ठधाम प्राप्त गरी शिवको कृपाले पापबाट मुक्ति प्राप्त गर्ने जनविश्वास रहेको छ । वाराणसीका अधिकांश मन्दिरहरूले वैकुण्ठ चतुर्दशी मनाउँछन् र यो देव दिवालीको अर्को महत्त्वपूर्ण अनुष्ठानको एक दिन अघि आउँछ । वाराणसी बाहेक, वैकुण्ठ चतुर्दशी ऋषिकेश, गया र महाराष्ट्रका धेरै शहरहरूमा पनि मनाइन्छ । र यो हिन्दूधर्मालम्बीहरुले मनाउने गर्छन ।
बैकुण्ठ चतुर्दशीको महत्व
बैकुण्ठ चतुर्दशीको दिनलाई निकै महत्वपूर्ण मानिन्छ । यो दिन विशेष छ किनभने यस दिन भगवान विष्णु र भगवान शिव दुवैको पूजा गरिन्छ। शिव पुराणका अनुसार बैकुण्ठ चतुर्दशीको दिन भगवान शिवले भगवान विष्णुलाई सुदर्शन चक्र दिएका थिए । धार्मिक मान्यता अनुसार यस दिन एक हजार कमल फूलले भगवान विष्णुको पूजा गरेमा बैकुण्ठधाममा स्थान प्राप्त हुन्छ ।