तोसिमा कार्कीको उम्मेदवारी आज टुंगो लाग्दै

Lok Bhatta २ वर्ष अघि
  • राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी तोसिमा कार्की विरुद्ध निर्वाचन आयोगले दर्ता गरेको निवेदन सोमबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ ।

    न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासमा कार्कीको उम्मेदवारीवारे बहस हुनेछ र सम्भवतः सोमबार नै सर्वोच्च अदालतबाट आदेशसमेत आउनेछ । निर्वाचन आयोगको निवेदनलाई सर्वोच्च अदालतले पहिलो प्राथमिकतामा राखेर सुनुवाइ गर्नेछ ।

    कार्कीको ललितपुर–३ उम्मेदवारी कायम रहने कि नरहने भन्नेबारे सोमबार टुंगो लाग्ने भएको छ ।

    नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य पदबाट राजीनामा नदिएर उनले मनोनयन दर्ता गराएकी थिइन् । दाबी विरोधका क्रममा कुनै निर्णय नगरेको निर्वाचन आयोगले पछि उनी लाभको पदमा रहेको भनी उम्मेदवारी खारेज हुने निर्णय गरेको थियो ।

    निर्वाचन आयोगको निर्णयविरुद्ध डाक्टर तोसिमा कार्की सर्वोच्च अदालत गएकी थिइन् । न्यायाधीश डा. कुमार चुडालको इजलासले मेडिकल काउन्सिलको निर्वाचित सदस्यलाई लाभको पद भन्न नमिल्ने भनी उम्मेदवार कार्कीको पक्षमा अन्तरिम आदेश दिएको थियो ।
    त्यो आदेश त्रुटिपूर्ण भएको र त्यही दिन सर्वोच्च अदालतको अर्को इजलासबाट भएको आदेशसँग बाझिएको भन्दै निर्वाचन आयोग अन्तरिम आदेश हुनुपर्ने र आफ्नो निर्णय काम हुनुपर्ने माग राखी सर्वोच्च अदालत गएको हो ।

    सोमबार सर्वोच्च अदालतले दिने आदेश नै डा. कार्कीको उम्मेदवारी कायम रहने वा नरहने भन्नेमा निर्णायक हुने भएको छ ।