यूके सरकारको वेबसाइटमा उल्लेख गरिए अनुसार मौसमी कामदार भिसा आवेदनका निम्ति २५९ पाउन्ड वा लगभग ४० हजार नेपाली रुपैयाँ तिर्नु पर्छ।त्यसबाहेक कामदारले यात्रा खर्च आफै बेहोर्नु पर्छ । हाल नेपालदेखि यूकेसम्मको हवाई भाडा दर करिब एक लाख ४० हजारको हाराहारी रहेको छ। श्रम स्वीकृति लिनुअघि गर्नु पर्ने चिकित्सा परीक्षणको शुल्क समेत मिलाउँदा कुल खर्च करिब दुई लाख हुने देखिन्छ।
व्यक्तिगत रूपमा भिसा आवेदन दिएर जान मिल्ने भए पनि कम्पनीहरूमार्फत जाने भएकाले आवश्यकभन्दा छ गुणा बढीसम्म रकम तिरेको कामदारहरूले बताएका छन्। यूकेको पर्यावरण, खाद्य तथा ग्रामीण मन्त्रालयले नेपालीहरू कामदारको रूपमा विदेश जाँदै गर्दा उनीहरूसँग कहाँ र कति रकम असुली गरिन्छ भन्नेबारे निरीक्षण गर्ने दायित्व नेपाल सरकारको हो ।
यद्यपि ग्याङ मास्टर एन्ड लेबर अब्यूज अथोरीटी जीएलएएले मौसमी कामदारको रूपमा यूके आउन चाहने नेपाली र उनीहरूसँग अतिरिक्त शुल्क लिइएको आरोपहरूबारे जानकार रहेको जनाएको छ।
“जीएलएएले यहाँको विदेश मन्त्रालय ‘एफसीडीओ’सँगको समन्वयमा श्रमिक नियमविपरित नेपाली कामदारहरूको भर्तीमा हुने जोखिम न्यूनीकरण गर्न काम गरिरहेको छ,” मन्त्रालयले बताएको छ।
त्यस्तै यूकेमा श्रम शोषणको आरोप बाहिरिएको खण्डमा जीएलएएले अनुसन्धान गर्ने र समस्या न्यूनीकरण गर्न अख्तियारप्राप्त निकायहरूसम्म उक्त जानकारी पुर्याउने बताएको छ।
साभार : बीबीसी