काठमाण्डू-केरुङ रेलमार्गको अबको चरणमा के अध्ययन हुन्छ?

Lok Bhatta २ वर्ष अघि
  • गत साता नेपाल आइपुगेको चाइना रेलवे सर्भे एन्ड डिजाइन ग्रुपको टोलीका विज्ञहरूले अबको चरणमा फिजिबिलिटी स्टडी अर्थात् सम्भाव्यता अध्ययनको काम अघि बढाउने छन्। त्यसका लागि सुरुवाती कामहरू काठमाण्डूमा सुरु भइसकेको रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले बीबीसीलाई जानकारी दिए।

    तुलनात्मक रूपमा ‘जटिल र गहन’ अध्ययनको आवश्यकता पर्ने हुँदा सम्भाव्यता अध्ययन पूर्ण हुन भने ४२ महिना लाग्ने अनुमान गरिएको छ। “पहिलो चरणमा काठमाण्डूमै बसेर योजना तर्जुमा गर्नेदेखि कुन कुन स्थानमा शिविर राखेर काम अघि बढाउने निर्क्योल हुने छ र त्यसै अनुरूप काम सुरु पनि भइसकेको छ,” बिसुरालले भने।नेपालको राजधानी काठमाण्डूसम्म जोडिने रेलमार्गबारे यसअघि नै पूर्व सम्भाव्यता अध्ययन भने सम्पन्न भइसकेको छ।

    पछिल्लो अध्ययनमा रेलमार्गको लम्बाइ, कस्तो खाले रेल सञ्चालन गर्न उपयुक्त हुन्छ, कस्तो प्रविधि प्रयोग गर्नुपर्छ, रेलमार्गमा स्टेसनहरू कहाँ कहाँ निर्माण गर्न सकिन्छ र ती सबै कार्यकालागि कति लागतको आवश्यकता पर्छ भन्ने विषयहरूबारे विस्तृत रूपमा अध्ययन गर्ने रेल विभागको भनाइ छ।

     बिसुरालका अनुसार ‘सिङ्गल लाइन’ विद्युतीय रेल सञ्चालन गर्ने पूर्वाधार बनाउने गरी यो रेलमार्गको काम अघि बढाइएको छ। सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गर्दा दुई देशका अधिकारीहरूले काठमान्डू-केरुङ रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने विषयसँग सम्बन्धित सम्झौतामा हस्ताक्षर गरेका थिए।

    त्यसपछि गत मार्चमा चिनियाँ स्टेट काउन्सीलर तथा विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा अन्तर्देशीय रेल सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न भएको सहमति कार्यान्वयन गर्न अर्को सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। रेलमार्गको सम्भावनाबारे पूर्व सम्भाव्यता अध्ययन भने सन् २०१८मा सम्पन्न भइसकेको छ।

    साभार बीबीसी