काठमाडौं महानगरका हलमा भोलिदेखि भारतीय चलचित्रको प्रदर्शनमा प्रतिबन्ध

Lok Bhatta ११ महिना अघि
  • काठमाडौं महानगरका हलमा भोलिदेखि भारतीय चलचित्रको प्रदर्शनमा प्रतिबन्ध

    काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन्द्र शाहको सचिवालयले जनाएको छ ।

    मेयर बालेन शाहले आफ्नो फेसबुकमार्फत जानकारी दिंदै उक्त कुरा जनाएका हुन् ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ । फेसबुकमा लेखिएको छ ।

    मेयर बालेन शाहको निर्देशनमा नगर प्रहरीले आइतबार बेलुका सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिने जनाइएको छ । महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् ।

    फिल्म आदिपुरुषबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय फिल्मलाई सोमबारदेखि निषेध हुने जनाइएको छ ।

    दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर शाहले फेसबुक स्टाटसमार्फत तीन दिनको अल्टिमेटम दिएका थिए । आइतबार तीन दिन सकिंदासम्म उक्त संवाद नसच्चिएको भन्दै बालेनले सोमबारदेखि भारतीय फिल्म रोक्न निर्देशन दिएका हुन् ।