कालीगण्डकी करिडोरको ट्रयाक खुल्यो, अब भारतीय पर्यटक मुक्तिनाथ जान र चीनका बौद्धधर्मावलम्बी लुम्बिनी पुग्नसक्ने

arjun ८ वर्ष अघि
  • बेनी (म्याग्दी), २४ असार । चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको ट्रयाक खुलेको छ । नेपाली सेनाको निर्माण कार्यदलले करिडोरको बागलुङ खण्डमा बाँकी रहेको २६ किलोमिटरमा नयाँ ट्रयाक निर्माण गरेपछि भारतको सुनौली नाकादेखि चीनको स्वशासित क्षेत्र तिब्बत्को कोरला नाका उपल्लो मुस्ताङसम्मको ३४५ किलोमिटर दुरीको ट्याक खुलेको हो ।

    यो वर्ष करिब ३३ करोड रुपैयाँ खर्चेर बागलुङ खण्डको ट्रयाक खोलिएको नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ । निर्माण कार्यदलका सहायक रथी उद्धव विष्टले सडकको सुधार र विस्तार गर्नुपर्ने भए पनि अब गाडी गुड्नसक्ने बनाइएको जानकारी दिए  ।

    बागलुङ खण्डमा मात्रै करिब रु ५६ करोड खर्च भएको उनले बताए  । करिडोरको ट्रयाक  खुलेपछि अब सुनौलीबाट पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै कोराला पुग्न सकिने करिडोर निर्माण कार्यदलका प्रमुख रेश्मिराज भट्टराईले बताउनुभयो ।  नेपाली सेनाको निर्माण कार्यदलकाअनुसार बागलुङ जिल्लाका चारवटा करिडोर क्षेत्रका खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने छ ।

    करिडोरको ट्रयाक खुलेसँगै अब भारतीय पर्यटक कालीगण्डकी नदीको किनारैकिनार भएर हिन्दू र बौद्धधर्मावलम्बीको प्रशिद्ध तीर्थस्थल मुक्तिनाथ जान र चीनका बौद्धधर्मावलम्बी पनि सोही मार्ग हुँदै लुम्बिनी पुग्नसक्नेछन् ।