देवघाटमा वृद्धग्राम बनाइने

NepalOm ५ वर्ष अघि
  • देवघाट क्षेत्र विकास समितिले सञ्चालन गर्दै आएको वृद्धाश्रमलाई वृद्धग्रामको रुपमा अगाडि बढाउने तयारी भएको छ।

    देवघाट क्षेत्र विकास समितिले सञ्चालन गर्दै आएको वृद्धाश्रमलाई वृद्धग्रामको रुपमा अगाडि बढाउने तयारी भएको छ। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलकाअनुसार वृद्धाश्रमलाई वृद्धग्राम बनाउनका लागि नवलपुरको गैँडाकोट नगरपालिका, तनहूँको देवघाट गाउँपालिका, चितवनको भरतपुर महानगरपालिका तथा तीनवटै जिल्लाका प्रतिनिधिसभा सदस्य सकारात्मक देखिएका छन्।

    अध्यक्ष पौडेलले वृद्धाश्रम सुन्दर, सफा र रमणीय हुनुपर्छ भनेर काम अगाडि बढाइएको बताए। देवघाट क्षेत्रमा अनाथ व्यक्ति मात्रै बस्ने ठाउँ नभएको उल्लेख गर्दै उनले देवघाटलाई जीवनको उत्तराद्र्ध समयमा आनन्दको जीवन बिताउने ठाउँका रुपमा विकास गरिने बताए। देवघाटको समग्र विकासका लागि गण्डकी प्रदेश सरकार र ३ नम्बर प्रदेश सरकारसमेत सकारात्मक रहेका उनको भनाइ छ। गैँडाकोटका नगरप्रमुख छत्रराज पौडेलले देवघाटको धार्मिक र ऐतिहासिक महत्वको बारेमा प्रचार गर्न सकेको अवस्थामा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन हुने बताए।

    भ्रमण वर्ष २०२० लाई सफल पार्नसमेत देवघाटको धार्मिक महत्वका बारेमा अन्तर्राष्ट्रियस्तरमा जानकारी गराउनुपर्नेमा उनको जोड थियो। समग्र देवघाट क्षेत्रको विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। चितवन क्षेत्र नम्बर २ का सांसद एवं कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले देवघाटको गुरुयोजनाअनुसार काम अगाडि बढाउन केन्द्रीय तहमा छलफल चलाइएको बताए।

    आगामी १० वर्षभित्रमा गुरुयोजना पूरा गर्ने गरी आर्थिक स्रोत जुटाउनका लागि तीनै जिल्लाका स्थानीय सरकार, दुवै प्रदेश सरकार र केन्द्र सरकारसँग पहल गरिने उनको भनाइ छ। देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरेनबाबु घिमिरेले देवघाटमा सरकारीसहित तीन ठूला वृद्धाश्रम रहेका बताए।

    त्यस्तै जीवनको उत्तराद्र्धमा देवघाटमा एक हजार पाँच सय भन्दा बढीले कल्पवास बस्ने गरेका घिमिरेको भनाइ छ। सो क्षेत्रमा सरकारी तवरबाट समेत ५० कल्पवास कुटी निर्माण भइरहेका छन्।