दीनबन्धु पोखरेल
अध्यात्म धर्म होइन, मनको संवेग, विशेषता वा क्षमता पनि होइन । अध्यात्म केवल मानसिक स्वःस्फुर्त शक्ति हो, जसले मानसिकतामा आचारसंहिता, शालिनता तथा सौम्यभाव सिर्जना गर्छ । अध्यात्म भनेको नैतिक ऊर्जा हो, जसले मानवलाई भौतिक तथा पारमार्थिक शान्तिको मार्ग प्रशस्त गराउँछ ।
तसर्थ अध्यात्म समाजलाई पुरातनवादी मान्यतामा अगाडि बढाउने कुनै धर्म वा कर्मकाण्डीय रूढीग्रस्त विषय पनि होइन । अध्यात्म त स्वचिन्तन र स्वदर्शनको मार्ग प्रशस्त गर्ने मानवीय शालिनता एवं शान्तिकामी सोच हो । त्यसैले अध्यात्म र धर्ममा धेरै फरक छ भन्ने विषय बुझ्नु जरुरी छ । अध्यात्म मानसपटलबाट चल्छ भने धर्म सत् वस्तु धारण गर्ने विषय हो, जो मनद्वारा निर्देशित हुन्छ । धर्म मनको विशेषता हो । मन चल्नका लागि त्यहाँको संस्कृति, भौगोलिकता, विभिन्न दर्शनले प्रभावित पार्छ, तर अध्यात्म त्यो अन्तरनिहित शक्ति हो, जो कसैबाट निर्देशित हुँदैन । यो शक्ति कसैमा सुषुप्त हुन्छ, कसैमा जागृत । जागृत मानवमा आत्मचिन्तनको विचार हावी हुन्छ । फलतः त्यो शान्तिकामी हुन्छ, तर सुषुप्त अध्यात्म हुनेमा हिंस्रक एवं पाशविक सोच हावी हुन्छ ।
तसर्थ अध्यात्मको पुनर्ताजगी वा पुनर्जागरण नै शान्ति, स्थिरता एवं विकासको सही माध्यम हो । प्रथम धार्मिक सहिद वाचनशिरोमणि पं. नारायणप्रसाद पोखरेलले यही विषय उजागर गरी समाजमा अध्यात्म चिन्तनको माध्यमबाट सामाजिक, भौतिक समृद्धिको मार्ग अवलम्बनको नयाँ अभियानको सूत्रपात गर्नुभयो । तत्कालीन समयमा उहाँले विशुद्ध समाजसेवाको नयाँ माध्यमको सुरुवात गर्दा आलोचनाको पात्र पनि बन्नुपर्यो । अन्ततः उहाँको त्यो अभियान समाज विकासको अपरिहार्य नयाँ आयामको रूपमा स्थापित भएको छ । उहाँले गर्नुभएको सामाजिक योगदानको अभियानले विकासमात्र होइन, समाजको एकीकरणमा समेत नयाँ सन्देश प्रवाह गरेको छ । २०६२ बैसाख २३ गते उहाँको पाञ्चभौतिक शरीर नष्ट गर्ने कार्य गरिएपछि उहाँको विरासत एवं अभियानलाई नवीनतम सोचबाट अगाडि बढाउने सबैबाट सत्प्रेरणा मिल्यो । यही अभियानको अवलम्बनकर्ताका रूपमा आफूलाई उभ्याई कार्य गर्दा लगभग ५ वर्ष व्यतीत भएको छ ।
यस अवधिमा भौतिक समृद्धिका हिसाबले १३ अर्ब रुपैयाँभन्दा बढी रकम संकलन गर्न सफल हुँदा खुसी पनि लाग्छ र अभियान अझै बढी संस्थागत भएको महसुस हुन्छ । मैले यो अभियानलाई विशुद्ध आधुनिक एवं नूतन प्रयोगको रूपमा लिएँ, जसले समाज उन्नयनमा बहुआयामिक बाटो दर्शाउने कार्य गरेको छ । मैले विकासमात्र होइन, अध्यात्मलाई सामाजिक चेतनाको सकारात्मक परिवर्तनसँग जोडेर हेरेको छु, जहाँ एकता, स्थिरता हुँदै भौतिक विकास सम्भव भएको पनि छ । मेरा यज्ञमा नेपालमा विद्यमान जातीय, वर्गीय, राजनीतिक, साम्प्रदायिक वा अन्य कुनै विभेदीकरणको छनक पाउन सकिन्न, किनभने हरेक तह-तप्काका सामाजिक व्यक्तित्वहरू सरिक भएर यज्ञ सफलिभूत पार्न उल्लेख्य भूमिका निर्वाह गरेका हुन्छन् ।
एउटा राजनीतिक, जातीय, साम्प्रदायिक वा अन्य वर्गको नेतृत्व तहको आगमनले केवल एक-एक रंगको प्रतिनिधित्व गर्छ । तर हाम्रो आध्यात्मिक अभियानले मानव एकताको परिकल्पना गरेको हुन्छ, जसको फलस्वरूप समाज विभक्त होइन, एकताबद्ध भएको छ ।
अध्यात्मलाई युवापंक्तिसँग समाहित गर्दा युवाको आकर्षण बढ्दै गएको छ । हाम्रा अनुष्ठानहरूमा व्यापक युवा सहभागिता भएको र यो तप्का क्रमिक रूपमा सकारात्मक चिन्तनतर्फ परिलक्ष्यित भएको मैले महसुस गरेको छु । भौतिक समुन्नयनका हिसाबले विगत १२ वर्षयता महायज्ञ नै सबैभन्दा अग्रपंक्तिमा छ । अबौंर्ं रुपैयाँ निस्क्रिय पुँजीलाई समाज विकासमा प्रयोग यही अभियानको माध्यमबाट गर्न सकिएको छ ।
संस्कृतिको जगेर्ना, सकारात्मक चिन्तनको विकास, शान्तिकामी सोच हावी गराउन हाम्रो नवीन आध्यात्मिक प्रयोग अत्यन्तै सफल भएकोमा कुनै सन्देह छैन । तसर्थ यो अभियानको नयाँ प्रवाहले नेपाली जनमानसमा थोरै भए पनि आशाको भाव जगाएको छ भन्नुमा अत्युक्ति हुँदैन ।
नेपाली समाजमा आध्यात्मिक सोच अपरिहार्य भइसकेको छ । नेपाललाई युगोस्लाभिया, सुडान वा रूवान्डा हुनबाट जोगाउने एकमात्र उत्तम मार्ग आध्यात्मिकता नै हो । हाम्रो वर्तमान अवस्थालाई सकारात्मकतातर्फ उन्मुख गराउन तथा सदैव मानवताको भावलाई जागृत गराउन यो अभियान अत्यन्तै व्यावहारिक छ । अहिले मैले यति भन्दा बढी आदर्शवादी वा महत्त्वाकांक्षीको रूपमा हेरिन्छ भने केही छैन, तर अन्ततोगत्वा यो सोच आगामी वर्षहरूमा नेपाली राष्ट्रियता जोगाउनका खातिर उजागर हुने कुरामा कुनै सन्देह छैन ।
हामी वर्ग, जात, धर्म, लिंग, सम्प्रदाय वा दलीय विभेदीकरण भन्दा केही माथि उठेर मानव मिलनको नयाँ सन्देश मुखरित गर्दै विश्वबन्धुत्वको भावना सदैव फैलाउने प्रण गरेका छौं, जसले समाज दीर्घकालीन रूपमा शान्तिकामी बनोस् । शान्तिले स्थिरता, स्थिरताले हरेक तहमा एकता तथा एकताले विकास यो नितान्त आध्यात्मिकताको मार्गबाट मात्रै सम्भव छ । त्यसकारण समाजका हरेक तह-तप्कामा आध्यात्मिक सोचले प्रश्रय पाउनु जरुरी छ ।
समाजको हरेक तह आध्यात्मिक बन्नु जरुरी छ, किनभने आध्यात्मिकताबिनाको कुनै मानव पनि पाशविक सोच र बर्बरताको मार्ग अवलम्बन गर्छ भन्नुमा कुनै सन्देह छैन । चाहे राजनेता होस् वा गाडी चलाउने चालक होस्, तिनमा भएको आध्यात्मिकताको ह्रासले ठूलै सामाजिक हलचल पैदा गर्छ । त्यसैले समाजमा आध्यात्मिकताको मार्ग नै समृद्धिको सबैभन्दा उच्च मान्यता वा अभियान हो । स्रोत: कान्तिपुर