काठमाडौं । ओम नेपाल न्युज
कार्तिक कृष्ण औंशीको दिन अथवा तिहारको तेश्रो दिन गाईको पूजा गरिन्छ । तर यो बर्ष भने तिथिकोको कारण सोमबार गाई तिहार मनाईदै छ ।
गाईको पूजा गरिने भएकोले यस दिनलाई गाई तिहार भनिन्छ । गाईलाई लक्ष्मीको प्रतिक पनि मानिन्छ ।
महत्व
कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर कोठा चोटा पवित्र तुल्याउने हाम्रो संस्कार छ। गाईलाई पशुधनका रूपमा पनि लिइन्छ। हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन्। गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ। लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ।
भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावण आदि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्, यी सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ।