राम बहादुर बमजनलाई प्रहरीले पक्राउ गर्दै , बमजन आश्रममा भेटिएनन

NepalOm ५ वर्ष अघि
  • काठमाडौं ।हत्या हिंसा, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको आरोप लागेका राम बहादुर बमजनलाई प्रहरीले पक्राउ गर्न लागेको छ । उनलाई पक्राउ गर्न आज बिहान छ बजेदेखि प्रहरी सिन्धुलीस्थित आश्रममा पुगेको छ ।
    आश्रम र वरिपरिको जंगलमा खोजे पनि उनलाई नभेटाएको प्रहरी स्रोतले बतायो।

    प्रहरी स्रोतका अनुसार सर्लाही जिल्ला अदालतबाट बिहीबारै बमजन पक्राउको अनुमति लिइएको थियो।

    उनिमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप छ।

    बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन्। बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन्।

    बमजनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दाकुट्दै मारिएको प्रत्यक्षदर्शीले बताएका छन्। आलेमगरलाई रक्ताम्मे अवस्थामा आश्रममा देखेको पनि प्रत्यक्षदर्शीको भनाइ छ। ब

    बमजनले आश्रममा बस्ने नाबालक आनी गंगामाया तामाङलाई बलात्कार गरेको आरोप छ। गंगामायाले डेढ वर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन्। अहिले गंगामाया काठमाडौंस्थित बालबालिकाको हितमा काम गर्ने एउटा संस्थाको संरक्षणमा छन्।

    सेतोपाटीले तीन महिना लामो अनुसन्धानपछि गत वर्ष पुस ११ गते बमजनका कर्तुतको फेहरिस्त तयार पारेर एकैसाथ चार स्टोरी प्रकाशित गरेको थियो।

    ती स्टोरी प्रकाशित भएपछि बमजनका विभिन्न आश्रमबाट बेपत्ता पारिएका र हत्या गरिएका पाँचै जना आनी र अनुयायीका परिवारले प्रहरीमा जाहेरी दिएका थिए।

    त्यसपछि नेपाल प्रहरीले अनुसन्धान सुरू गरेको थियो। केही महिनासम्म प्रहरीले अनुसन्धान जारी राखे पनि पछि त्यो काम सुस्ताएको थियो।

    अनुसन्धानले गति नलिएपछि दुई महिनाअघि प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले आफ्नै मातहतमा विशेष टोली परिचालन गरेर अनुसन्धानलाई तीव्रता दिएका थिए।

    सोही अनुसन्धानको निचोडका आधारमा प्रहरीले बमजनलाई पक्राउ गर्न जिल्ला अदालत सर्लाहीबाट अनुमति मागेको हो।

    पक्राउपछि प्रहरीले बमजनमाथि थप अनुसन्धान गर्नेछ। त्यसपछि मात्र कुन कुन आरोपमा उनीविरूद्ध अदालतमा मुद्दा लैजाने भन्ने तय हुनेछ।