काठमाडौं ।
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ७ लाख ४२ हजार ४१७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २२ हजार ७५२ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै मृत्यु हुने संख्या पनि उच्च रहेको छ । अहिलेसम्म भारतमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या २० हजार ६ सय ४२ पुगेको छ । २४ घण्टामा मात्रै ४ सय ८२ जनाको मृत्यु भएको छ ।
भारतको सबैभन्दा प्रभावित प्रदेश महाराष्ट्र हो । यो प्रदेशमा मात्रै अहिलेसम्म कोरोना भाइरसका २ लाख १७ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ९ हजार २५० जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा अहिलेसम्म एक लाख १८ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने एक हजार ६३६ जनाको मृत्यु भएको छ ।
दिल्लीमा पनि कोरोना भाइरसका एक लाख दुई हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने तीन हजार १६५ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशमा करिब ३० हजार संक्रमित फेला पर्दा ८२७ जनाको मृत्यु भएको छ ।
पश्चिम बंगालमा २३ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ८०४ जनााको मृत्यु भइसकेको छ । बिहारमा कोरोना भाइरसका १२ हजार ५७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १०४ जनाको मृत्यु भइसकेको छ ।
अहिलेसम्म कोरोना भाइरसका चार लाख ५६ हजार ८३१ जना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।