जनैपूणिमा र रक्षाबन्धनकाे साथ ‘वेदजयन्ती’ पनि

NepalOm ४ वर्ष अघि
  • काठमाडौं ।
    सोमबार जनै पूर्णिमा , रक्षाबन्धन र वेदजयन्ती । हामी सबैलाई थाहा छ जनै पूर्णिमा र रक्षाबन्धनको बारेमा त तर हामी मध्य थोरैलाई मात्र थाहा छ की यसै दिन बेदजयन्ती पनि हो ।

    हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणी पूर्णीमाका दिन अध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरेर पनि मनाइन्छ । आजैको दिन महर्षि याज्ञवल्क्यले आदित्य सूर्यबाट वेद प्राप्त गरेका थिए त्यसैले यस दिनलाई वेदजयन्तीको रुपमा पनि चिनिन्छ ।

    जनैपूर्णिमा
    वैदिक सनातन वर्णाश्रमधर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव न भए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन् । त्यस पछिजौ तिल कुश साथमा लिई अविच्छिन्न वंशपरम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेदवेदांगको पाठ गर्दछन् वा सुन्छन् । त्यस पछि आआफ्ना गोत्र, प्रवर र ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धतिसहित सप्तर्षिमण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी,यज्ञोपवीताभिमन्त्रण जनै मन्त्रने काम गर्दछन् ।
    उपाकर्म,उत्सर्ग र लगाएको चार महिना भएपछि वैदिक विधिपूर्वक मन्त्रिएको नयाँजनै यज्ञोपवीत फेर्ने चलन छ । यसदिन मन्त्रेको यज्ञोपवीत जनै वर्षदिनभर लगाउन भण्डारण गर्ने चलन छ ।

    रक्षा बन्धन

    रक्षा बन्धनहिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र दिन हो । रक्षाबन्धन शब्दमा दुई शब्द जोडिएको छ । यो चाड श्रावण शुक्ल पूर्णिमाको दिन मनाईन्छ । जनै लगाउनेहरू यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । यस दिन बर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गरिन्छ । यस दिन नेपालमा ब्राह्मणहरूहरू नुहाई धुवाई गरेर पूजा पाठ गरि सके पछि पवित्र रक्षाबन्धन बाँधेर टिका लगाईदिने गर्छन ।

    त्यसैका आज पनि ब्राह्मण वा आचार्य गुरूहरू शिष्ययजमानहरू लाई येन बद्धो वलिः राजा दानवेन्द्रो महावलः । तेन त्वां प्रतिबध्नामि रक्ष मा चल मा चल ।। अर्थात् जुन रक्षासूत्रले अत्यन्तवलशाली राजा वलि बाँधिए पछि सारा देवगण सुरक्षित भए,म त्यही रक्षासूत्रले बाँधी तिमिलाई सुरक्षित गर्दछु । तत्पश्चात् इन्द्राणीले इन्द्रको दाहिने हातमा रक्षासूत्र बांध्नुहुन्छ । त्यो कुन रक्षासूत्र थियो जुन रक्षासूत्र बांध्नाले देवराज इन्द्र विजयी बने । वास्तवमा त्यो पवित्रताको रक्षासूत्र थियो । जसको भावार्थ यही हो कि यदि मानिसले आफ्नो आसुरी वृतिहरू माथि विजय प्राप्त गर्न चाहन्छ भने आफ्ना धर्मपत्नीसंग पनि रक्षासूत्र अवश्य बांध्नु पर्दछ । मन, वचन र कर्मलाई पवित्र बनाउनु पर्दछ । एक अन्य शास्त्र कथा अनुसार जब यमदूतले आफ्नो बहिनी यमुनासंग राखी बांध्ने समयमा भनेको हुन्छ कि जसले यस पवित्रताको राखी बँधाउछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । रक्षाबन्धन एक धार्मिक उत्सव पनि हो । जसको सम्बन्ध जीवनमा श्रेष्ठता एवं निर्विकारितासंग छ । यसकारण यस पर्वलाई विषतोडक पर्व पनि भनिन्छ ।