
काठमाडौँ उपत्यकाभित्र २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारी साधन आजदेखि जोर बिजोर प्रणालीमा सञ्चालन भएकाे छ ।
स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र भौतिक दूरी कायम गरी सवारीसाधन सञ्चालन गरिएकाे हाे ।सवारीसाधन बिहान ६ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।
चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यनिटाइजरको व्यवस्था हुनुपर्ने बताइएको छ । त्यस्तै सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रुपमा सवारी साधन निसङ्क्रमित गर्नुपर्नेछ ।
निजी सवारी साधन (कार जीप, भ्यान) बढीमा चार र ट्याक्सीको हकमा बढीमा तीन जना मात्रै सवार गर्न पाउने नियम छ ।
विवाह तथा व्रतबन्धका हकमा आफ्नो घर वा बसेको स्थानमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी उपस्थित हुन पाइने छ ।
त्यस्तै यसका लागि दुई सवारी साधन ब्यानरसहित आवतजावत गर्न दिने बताइएको छ । सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि मल, बीउबिजन, पशु चिकित्सकलगायत अत्यावश्यक सेवा प्रदायक सवारी साधन निर्बाध रुपमा सञ्चालन हुन पाउनेछन् ।
तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ सामग्री, कुखुराको चल्ला र पशुपन्छीजन्य पदार्थ, भेटेरिनरीसम्बन्धी इन्धनलगायत बस्तु बिहान ९ः०० बजेदेखि ११ः०० र अपराह्न ४ः०० बजेदेखि ७ः०० बजेसम्म ढुवानी गर्न पाउने व्यवस्था मिलाइएको छ ।
सार्वजनिक तथा निजी निर्माणको कामका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ः०० देखि बिहान ५ः०० बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था मिलाइएको छ । पत्रकारलाई सूचना विभाग वा मिडिया हाउसले जारी पासका आधारमा आवतजावत गर्न पाउने व्यवस्था मिलाइएको छ ।