
काठमाडौं ।
‘ओशो तपोवन’ ले भगवान ओशोको ‘जोर्वा दी बुद्ध’ दर्शनमा आधारित ‘राष्ट्रका लागि तपोवन’ अभियान संचालन गरेको छ । ओशोले नयाँ मनुष्यको परिकल्पना गर्दै ‘जोर्वा दि बुद्ध’ भन्नुभएको छ । जोर्बा अर्थात् भौतिक सम्वृद्धता र बुद्ध अर्थात आन्तरिक सम्बुद्धता । दुवैको समन्वय हुँदामात्र मानिस पूर्ण हुन्छ । ‘जोर्वा दी बुद्ध’ दर्शनमा भनिएको छ,’ मानिस आर्थिक रुपमा सम्बृद्ध होस्, सुखभोग गरोस् तर बुद्ध जस्तै आन्तरिक सम्पदाको खोज पनि गरोस् । मानिसको बाहिरी रुप जोर्बा जस्तो होस् र आन्तरीक स्वरुप बुद्ध जस्तो होस् ।’ भौतिक सुख सुबिधाहरु उपभोग गरेर पनि ध्यानमय र साधनापूर्ण जीवन बिताउन सकिन्छ भन्ने सन्देश दिएको छ- ‘राष्ट्रका लागि तपोवन’ नामक अभियानले । हरेक महिना आयोजना हुने ‘राष्ट्रका लागि तपोवन’ मा समाजका प्रतिष्ठित व्यक्तीहरु भेला गराई योग र ध्यानको २६ घण्टा प्रयोगात्मक, व्यवहारिक र आध्यात्मिक कार्यक्रम गरिन्छ । जसमा डायनामिक योग, विभिन्न चक्रका ध्यान हुँदै कुण्डलिनी र सेलिब्रेसन कार्यक्रम गरिन्छ । योगसहित ध्यानका विभिन्न सेसनहरुमा विभक्त गरी सञ्चालन गरिएको सो कार्यक्रममा सहभागीहरुलाई सकारात्मक सोचको विकास गर्ने व्यवहारिक कला पनि सिकाइन्छ ।
ओशोको ‘जोर्वा दी बुद्ध’ दर्शनमा आधारित ‘राष्ट्रका लागि तपोवन’ अभियानमा बोधिसत्व स्वामी आनन्द अरुण प्राचार्य रहेका छन् भने यसको नेतृत्व गर्नुभएको छ- एनआरएनएका पूर्वअध्यक्ष भवन भट्ट (स्वामी आनन्द देव)ले । अभियानमा उद्योग, व्यवसाय, कला, साहित्य जस्ता विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरुको सहभागिता रहंदै आएको छ । सकारात्मक सोचको वृद्धि र आफूभित्र आध्यात्मिक जागरण जागृत भएको सहभागिहरुको प्रतिकृया छ । यो अभियानमा समाजका जुनसुकै वर्ग, उमेर र तहतका व्यक्तिहरुले सहभागिता जनाउन सक्नेछन् । अभियानलाई स्वामी आनन्द अर्हत, निराजन भण्डारी र सोविता सिम्खडाले संयोजन गर्नुभएको छ ।

प्रकृति, योग र अध्यात्मको त्रिवेणी ‘ओशो तपोवन’
काठमाडौँ बालाजुबाट छ किलोमिटर पार गरेपछि नागार्जुन हिलमा ‘ओशो तपोवन’ आउँछ । जुन ‘इन्टरनेसनल कम्युन’ को नामबाट पनि परिचित छ । ‘ओशो तपोवन’ प्रकृति, योग र अध्यात्मको त्रिवेणीका रुपमा स्थापित छ । अध्यात्मिकताको केन्द्रका रूपमा नेपाललाई दुनियाँमा परिचित गराउन, योग र ध्यानका प्रयोगात्मक, व्यवहारिक र अध्यात्मिक कुराहरुबारे साक्षात्कार गराउन र ओशो साहित्यको ज्ञान प्रसारमा तपोवनको भुमिका अतुलनीय छ ।
विश्व ध्यान दिवसको प्रस्ताव नेपालले गर्नुपर्छ
स्वामी आनन्द अरुणले बुद्धको जन्म, संबोधि र महापरिनिर्वाण सबै एकै दिन परेको त्रियोग महोत्सव बुद्ध जयन्तीलाई विश्व ध्यान दिवसका रुपमा मनाउन नेपालले पहल गर्नुपर्ने बताउनुहुन्छ । मानसिक समस्यामा न्यूनीकरणका लागि ध्यानको ठूलो भूमिका छ । अहिले विश्व योग दिवस प्रत्येक वर्ष मनाइन्छ । विश्व ध्यान दिवस मनाउन पनि संयुक्त राष्ट्र सङ्घमा नेपालले प्रस्ताव लानुपर्ने उहाँको भनाइ छ । ओशो तपोवनले विश्वभरका दुई सय शाखामा अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउने गरेको छ ।