
काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान साढे ३ घण्टा ढिला गरी सुरु भएको हो ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेस विधानअनुसार १६७ कार्यसमिति मध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।
भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका राष्ट्रिय सभागृह, भृकुटीमण्डप प्राङ्गण र भृकुटीमण्डपको हलमा गरी सयौँ बुथ राखिएको छ । यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ ।
१३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि आज मतदान हुने छ ।
सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र सदस्यसहित एक सय ३४ पदका लागि भइरहेको निर्वाचनमा चार सय ८६ जना प्रतिस्पर्धामा छन् । दुई उपसभापतिका लागि सात जना, दुई महामन्त्रीका लागि ६ र आठ सहमहामन्त्रीका लागि १९ नेताले उम्मेदवारी दिएका छन् । त्यस्तै, एक सय २१ सदस्यका लागि चार सय ४९ जना चुनावी मैदानमा छन् ।