विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै यादवले दिए उजुरी

Lok Bhatta ३ वर्ष अघि
  • काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा.सुभाषचन्द्र यादवले पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय निर्वाचन आयोगमा चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी दिएका हुन् ।

    कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको तर विनोद चौधरी २०७४ सालमा मात्र कांग्रेस प्रवेश गरेकाले उनी केन्द्रीय सदस्य बन्न नपाउने यादवको तर्क रहेको छ ।

    सानेपास्थित निर्वाचन समितिलाई मौखिक रुपमा पटकपटक भन्दा पनि सुनवाई नभएको भन्दै राजनीतिक दलसबन्धी ऐनलाई जोडेर गत महाधिवेशनमा खुला मधेसीतर्फ छैठौं स्थानको मत प्राप्त गरेका यादवले चौधरीलाई पदमुक्त गर्न निवेदन दिएका हुन् ।

    चौधरी अवैधानिक ढंगले केन्द्रीय सदस्य बनेको भन्दै यादवले उनको पद खारेज गरी आफूलाई केन्द्रीय सदस्य बनाउन माग गरेका छन् । उद्योगपति चौधरी कांग्रेसको १४औं महाधिवेशनमा मधेसी (खुला)कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।